: रौतहटको मौलापुर नगरपालिका-४ स्थित लालबकैया पुलबाट शुक्रबार दिउँसो हामफालेका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारा सिम्रौनगढ नगरपालिका-११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव रहेका छन् ।
उपचारका लागि आफ्नो दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा बसेर रौतहटतर्फ जाँदै गरेका बेला सचिन्द्रले पुलबाट खोलामा हामफालेका थिए । त्यसयता अज्ञात रहेका उनको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बेपता युवकको खोजी भइरहेको जानकारी दिए । इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प देवाही गोनाहीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहितको सात जना टोलीले खोजी गरिरहेको छ ।
बेपत्ता युवकको मानसिक अवस्था ठिक नभएको र पुलमा आएपछि अचानक मोटरसाइकलबाट उत्रिएर हामफालेको जानकारी बेपत्ता युवकका दाइ सिकिन्द्रले प्रहरीलाई दिएका छन् ।