। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित ४७ देशका नागरिकलाई आफ्नो युद्धमा प्रयोग गरिरहेको उल्लेख गर्दै युसी युद्धको हिस्सा नबन्न सबै देशलाई अनुरोध गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई छलकपट तथा विभिन्न प्रलोभनमार्फत आफ्नो देशमा पुर्याएर युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।
उनले नेपाल, घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिक रुसी युद्धमा संलग्न रहेको उल्लेख गरे।
‘रुसले आफ्नो युद्धमा ४७ देशका नागरिक प्रयोग गरिरहेको छ,’ जेलेन्स्कीले भने। उनका अनुसार तीमध्ये कतिपय नागरिकलाई उनीहरूको इच्छाविपरीत वा झुक्याएर रुस पुर्याइएको र त्यसपछि युद्धभूमिमा पठाइएको छ।
जेलेन्स्कीले रुसी युद्धमा गैररुसी नागरिकको मृत्यु भइरहेको दाबी गर्दै सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षाका लागि कदम चाल्न आग्रह गरे।
‘तपाईंहरूका नागरिक हुन्, उनीहरूको ख्याल गर्नुहोस्,’ उनले महासभामा उपस्थित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने। उनले आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युद्धको अर्को मोर्चामा पुग्न नदिन पनि सम्बन्धित देशहरूलाई आग्रह गरे।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्य देशलाई समेत युद्धमा तान्न खोजिरहेको आरोप लगाए। उनले सम्बन्धित देशका प्रतिनिधिहरूलाई आफ्ना नागरिकलाई रुसी युद्धको हिस्सा बन्न नदिन आग्रह गर्दै भने, ‘पुटिनलाई तपाईंहरूलाई यो युद्धमा तान्न नदिनुहोस्।’
उनले रुसी सेनामा गैररुसी नागरिकको प्रयोगबारे आफूहरूसँग प्रमाण रहेको संकेत गर्दै युक्रेनी ड्रोनबाट प्राप्त भिडियोमार्फत युद्धभूमिमा आफ्ना नागरिकहरू पुगेको र मारिएको देखिने गरेको दाबीसमेत गरे।
जेलेन्स्कीको यो भनाइसँगै रुस–युक्रेन युद्धमा नेपाली नागरिकको सम्भावित संलग्नताको विषय फेरि अन्तर्राष्ट्रिय मञ्चमा उठेको छ। नेपालले विगतदेखि नै आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती नगर्न र रुसी सेनामा पुगेका नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्दै आएको छ।
जेलेन्स्कीले महासभामा प्रस्तुत गरेको ४७ देशका नागरिक रुसी युद्धमा प्रयोग भइरहेको दाबी र त्यसमा नेपाली नागरिकको संख्या खुलाएका छैनन्।