: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको उनले चेतावनी दिए।
विश्व स्पष्ट रूपमा बहुध्रुवीयतातर्फ अघि बढिरहेको उल्लेख गर्दै गुटेरेसले त्यसको स्वरूप भने फरक-फरक हुन सक्ने बताए। उनका अनुसार एउटा बाटो बढ्दो तनाव र गहिरिँदो अविश्वाससहितको विखण्डित विश्वतर्फ जाने हो।
अर्को सम्भावना भनेको अन्तर्राष्ट्रिय कानुन र साझा नियमको साझा ढाँचाभित्र प्रभावका विभिन्न केन्द्रहरू सहअस्तित्वमा रहने विश्व निर्माण गर्नु रहेको उनले बताए। महासचिव गुटेरेसले भविष्य चारवटा ‘ठूला शक्ति–परीक्षा’ लाई कसरी सम्बोधन गरिन्छ भन्नेमा निर्भर रहने बताए। युद्ध र शान्तिमाथिको शक्ति, सम्पत्ति केन्द्रित गर्दै असमानता बढाउने शक्ति, जलवायु संकटलाई तीव्र बनाउने शक्ति र कृत्रिम बौद्धिकताबाट उत्पन्न शक्तिलाई उनले जोड दिएका थिए।
त्यस्तै महासचचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अफ्रिकालाई कम्तीमा एक स्थायी सदस्यता दिनुपर्ने माग पनि गरेका छन्। महासभामा उपस्थित नेताहरूको तालीबीच उनले २१औँ शताब्दीको सुरक्षा परिषद्मा अफ्रिकाको स्थायी प्रतिनिधित्व नहुनु अन्यायपूर्ण र अस्वीकार्य रहेको बताए। ‘यो परिवर्तन हुनैपर्छ,’ उनले भने।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका गरी पाँच स्थायी सदस्य छन्। दोस्रो विश्वयुद्धको अन्त्यतिर कायम रहेको विश्व व्यवस्थालाई प्रतिबिम्बित गर्ने संरचना भएको भन्दै सुरक्षा परिषद्को लामो समयदेखि आलोचना हुँदै आएको छ। त्यतिबेला अफ्रिकाका धेरैजसो मुलुक औपनिवेशिक शासनमा थिए।
सुरक्षा परिषद्का १० अस्थायी सदस्य क्षेत्रीय आधारमा चयन हुन्छन्। तर पाँच स्थायी सदस्यको विपरीत उनीहरूलाई ‘भिटो’ प्रयोग गर्ने अधिकार हुँदैन।