मुख्य समाचार
प्रधानमन्त्री बालेनले तोडे भीभीआईपी बिदाइको परम्परा
प्रधानमन्त्री बालेनले तोडे भीभीआईपी बिदाइको परम्परा

: प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक बिदाइको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ‘गार्ड अफ अनर’देखि उच्चपदस्थ अधिकारीको लामबद्ध बिदाइसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उडे।

सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति, प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए। तर, प्रधानमन्त्री बालेन कुनै औपचारिक स्वागत र सम्मानबिनै अमेरिका प्रस्थान गरेका छन्। उनलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री खड्कराज पौडेल (गनेस) त्रिभुवन विमानस्थलमा पुगेका थिए। यस कदमलाई लिएर कूटनीतिक क्षेत्रमा भने फरक–फरक धारणा देखिएका छन्। पूर्वराजदूत नीलाम्बर आचार्यले राज्यका औपचारिक परम्परा व्यक्तिको इच्छाअनुसार अकस्मात परिवर्तन गर्न नहुने बताए। पूर्वमुख्यसचिव विमल कोइरालाले भने भीभीआईपीका नाममा हुँदै आएको तडकभडक, सलामी र फजुल खर्च अन्त्य गर्ने निर्णयलाई सकारात्मक भनेका छन्।

पूर्वराजदूत आचार्यले विगतका कूटनीतिक परम्परालाई निरन्तरता दिने कि नदिने भन्ने विषय सोचेर गर्नुपर्ने बताए। उनले यस्ता कामले कूटनीतिमा खासै प्रभाव नपर्ने पनि बताए। आचार्यले भीभीआईपी (विशिष्ट व्यक्ति) हरूलाई दिइने सुरक्षा, सम्मान तथा औपचारिक सेरेमनी (सलामी÷गार्ड अफ अनर) कुनै व्यक्तिको व्यक्तिगत रुचि वा लहडको विषय नभई राज्य र पदको मर्यादाको विषय भएको बताए। संस्थागत निर्णय र स्पष्ट नीतिबिना अकस्मात वा व्यक्तिगत इच्छाका आधारमा यस्ता परम्परा र अभ्यासहरू फेर्न नमिल्ने उनको तर्क छ।

कूटनीतिज्ञ आचार्यका अनुसार राष्ट्रपति, प्रधानमन्त्रीजस्ता उच्च सार्वजनिक पदमा आसीन व्यक्तिहरूलाई दिइने सम्मान, सुरक्षा र औपचारिक बिदाइ वा स्वागत राज्यको दायित्वभित्र पर्छ। ‘जो व्यक्ति उक्त पदमा बस्छ, त्यो पदप्रतिको सम्मान र सुरक्षा कायम राख्नु राज्यको कर्तव्य हो,’ उनले भने, ‘त्यो पद कुनै व्यक्तिको निजी सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो। जति ठूलो पद हुन्छ, उति नै ठूलो सार्वजनिक सम्पत्ति हुन्छ।’
विशिष्ट पदमा रहेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत इच्छाअनुसार ‘मलाई यो चाहिन्न’ वा ‘म यो गर्दिनँ’ भन्न नमिल्ने तर्क गर्दै आचार्यले पदले जे माग गर्छ, त्यो पूरा गर्नुपर्ने बताए। उनले थपे, ‘आफूलाई मन लाग्यो भन्दैमा जहाँ पाए त्यहीँ जाने, चाहेअनुसारको लुगा लगाउने वा नियम–परम्परा नमान्ने भन्ने हुँदैन। पदको सम्मान र भरोसा कायम राख्न निर्धारित नियम पालना गर्नैपर्छ।’

विदेश भ्रमणमा जाँदा दिइने गार्ड अफ अनर वा अन्य औपचारिक बिदाइ/स्वागतका कार्यक्रमहरूलाई हटाउने वा राख्ने भन्ने विषयमा लहडका भरमा निर्णय लिन नहुने उनको भनाइ छ। यस्ता विषयमा संस्थागत रूपमा व्यापक छलफल गरी सकारात्मक र नकारात्मक दुवै पक्षको मूल्यांकन गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा उनको भनाइ छ।

राज्यले चाहेमा विद्यमान परम्परा र औपचारिक परिपाटीहरूलाई आधुनिक समय सापेक्ष, कम खर्चिलो, कम भड्किलो र विश्व सभ्यतासँग मेल खाने गरी परिमार्जन गर्न भने सकिने उनले स्पष्ट पारे। तर, जुनसुकै परिवर्तन पनि सोचविचार गरेर संस्थागत र परिपक्व निर्णयमार्फत मात्रै अभ्यासमा ल्याइनुपर्ने उनको निष्कर्ष छ।

पूर्वमुख्यसचिव विमल कोइरालाले भीभीआईपीहरूलाई दिइने सुरक्षा सलामी, स्वागत र बिदाइका नाममा हुँदै आएको तडकभडक र फजुल खर्च अन्त्य गर्ने निर्णय अत्यन्तै स्वागतयोग्य भएको बताएका छन्। यस निर्णयले समाजमा विकसित हुँदै गएको ढोंगी संस्कृतिलाई रोक्न ठूलो मद्दत पु¥याउने उनको तर्क छ। पूर्वमुख्यसचिव कोइरालाका अनुसार पछिल्लो समय विशिष्ट व्यक्तिहरूको भ्रमण र कार्यक्रमहरूमा अनावश्यक तडकभडक बढेको थियो। ‘मन्त्रीहरू जिल्ला जाँदा पनि सुरक्षा सलामी चाहिने, पूर्वप्रधानमन्त्रीहरू जाँदा सचिवदेखि राजदूतसम्म लाइन बसेर स्वागत–बिदाइ गर्नुपर्ने र यसबाट विदेशीहरूलाई समेत दुःख हुने स्थिति बनेको थियो,’ उनले भने, ‘यस्तो खराब परम्पराको अन्त्य हुनु खुसीको कुरा हो।’

विशिष्ट व्यक्तिहरूको स्वागत र बिदाइमा हुने यस्ता अभ्यासहरूलाई कतिपयले परम्पराका रूपमा तर्क गरे पनि कोइरालाले भने खराब नजिर वा परम्पराहरूलाई समयक्रममा खारेज गर्दै जानुपर्ने स्पष्ट परे। ‘खराब नजिर वा परम्पराहरू छन् भने तिनलाई हटाउँदै जानुपर्छ,’ उनले भने।

हालैका प्रशासनिक सुधार र सादगीतर्फका प्रयासहरूको प्रशंसा गर्दै कोइरालाले आफ्ना लागि दुईवटा सुधारका निर्णयहरू विशेष मन परेको बताए।
‘एउटा, माला र खादा नलगाउने तथा शिलान्यास वा उद्घाटन कार्यक्रममा नजाने निर्णय र दोस्रो, यो भीभीआईपीको अनावश्यक तडकभडक र सलामी परम्पराको अन्त्य,’ उनले भने, ‘यी दुवै निर्णयहरू अत्यन्तै सकारात्मक र राम्रा सुरुवात हुन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम स्वीकृतिबिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ। २०८३ असोज ५ गते श्रम भिसामा कुवेत प्रस्थान गर्न लागेका ती यात्रुलाई श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने देखिएपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको ...
: गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा ब्रिफिङ लिएका छन्। मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन्। सो क्रममा बिभागका मौसमविद्हरुले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि ...
: भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्री रहेका छन्। उनको पहिचान खुल्न बाँकी छ। मगंलबार दिउँसो ३ बजेतिर के.एम.सी.अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कबारबाट गम्भीर घाइते भएका उनको के.एम.सी.अस्पतालमा ...
: जेनजी आन्दोलनका बेला फरार भएका एक कैदी पक्राउ परेका छन्। आन्दोलनको क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका ४३ वर्षीय कोमलराज उपाध्याय काठमाडौंको कागेश्वरी मनोहरा–७ पोखरीबाट पक्राउ परेका हुन्। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका उनी २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला फरार भएपनि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले ...
: रसुवाको भोटेकोशी करिडोरमा आएको बाढीले नेपालको ऊर्जा–आधारित अर्थतन्त्रमा एकैपटक बहुआयामिक झट्का दिएको छ। जलविद्युत् आयोजना, सडक र बस्ती बगेसँगै यसको असर केवल भौतिक संरचनामा सीमित रहेन—उत्पादन घट्यो, बिमा दाबी उछालियो र अन्ततः बैंकिङ प्रणालीमा कर्जा असुली पनि संकट देखा पर्‍यो। जलविद्युत् परियोजनामा पुगेको क्षतिले आम्दानी चक्र नै अवरुद्ध गर्दा त्यससँग जोडिएको वित्तीय प्रणालीमा ‘चेन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम