: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा शान्ति कायम भएको भनी गरेको दाबीमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसङ्घको साधारण सभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले शान्तिको घोषणा गरिए पनि गाजामा हालसम्म कुनै पनि मानवीय सहायता मार्ग (ह्युमनिटेरियन करिडोर) पुनः सञ्चालनमा नआएको बताए।
गाजाको वर्तमान स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाउँदै उनले भने, 'विश्वसामु' यस्तो दृश्य छ, जसप्रति हामी सबै लज्जित हुनुपर्छ।'
म्याक्रोनले ट्रम्पद्वारा गाजा शान्ति योजनालाई कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिएको कदमको कडा आलोचना गरे। 'यदि हामी गाजाको विषयलाई लिएर लगातार सन्तुष्ट भइरह्यौँ भने हाम्रो विश्वसनीयता के रहला?' म्याक्रोनले प्रश्न गरे, 'केही मानिसहरू कथित शान्तिको बखान गरिरहेका छन्। तर यो शान्तिले मानवीय सहायताका लागि एक सेकेन्डका लागि पनि पहुँच सुनिश्चित गर्न सकेको छैन। के हामी चुपचाप उभिएर यस्तो शर्मनाक दृश्य हेरिरहने?'
यसैबीच राष्ट्रपति म्याक्रोनले रूस र युक्रेनबीच चाँडोभन्दा चाँडो अर्थपूर्ण वार्ता सुरु गराउन फ्रान्सले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।