: दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू धमाधम घर फर्किन थालेका छन् । निरन्तर बर्सात र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढी धमाधम फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात भइरहेको छ । पाँच फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन् ।
‘यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो,पानी पनि परिरहेको छ । हिउँ पनि परिरहेको छ । चारजनाको त मृत्यु नै भइसक्यो’,वडाअध्यक्ष लामा भन्छन्,‘झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोहीहरू धमाधम फर्किरहेका छन् ।’ कोही फर्केर काठमाडौं गइसके, कोही विभिन्न क्याम्पबाट झरिरहेका र कोही सामागाउँमा पुगेर बसेका उनले बताए ।
मौसम अनूकुल भएपछि फेरि आरोहण गर्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ । ‘कसैको भिसा सिद्धिएको हुन्छ । आफूमात्र गएर भएन । सरसामान लैजानुपर्छ,गाइड,शेर्पा लैजानुपर्छ । त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन,'उनले भने ।
सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा बिगत दुईसातादेखि निरन्तर पानी परिरहेको त्यहाँबाट प्रबल लामाले जानकारी दिए । साथै हिमपात भएर बाहिर निस्कनै नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘म बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिन’,उनले भने, ‘यो वर्ष त पानी पनि नन्स्टप परिरहेको छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ ।’ जोखिम देखेर आरोहीहरु फर्किरहेको उनको भनाइ छ । ‘झण्डै ५० प्रतिशत आरोहीहरु फर्किए होलान्’,उनले भने ।
आरोहीहरु धमाधम फर्किए पनि ठूलो संख्यामा भने नफर्केको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउँछन् । ‘हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला’,उनले भने,‘अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।’
८,१६३ मिटर मनास्लु आरोहण गर्न यो सिजनमा सँधैभन्दा धेरै करिब पाँचसय आरोहीले मनास्लु आरोहण गर्न अनुमति लिएका थिए । गत वर्ष ४१० जनाले अनुमति लिएकामा यसवर्ष ४९३ जनाले आरोहण अनुमति लिएका थिए । विभिन्न ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । उनीहरूबाट सरकारलाई २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ ।