। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् ।
सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले चार एसेस शृङ्खला खेलेका थिए भने २०१५ मा ट्रेन्ट ब्रिजमा जित दिलाउने विकेट र २०२३ मा हेडिङ्लीमा गरेको तीव्र स्पेल विशेष रूपमा सम्झिने प्रदर्शन बने ।
वूड इंग्ल्यान्डको दुई विश्वकप विजेता टोलीका सदस्य पनि हुन् । उनले २०१९ को घरेलु एकदिवसीय विश्वकपमा १८ विकेट लिएर उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए ।
त्यस्तै २०२२ को टी–२० विश्वकप जित्दा उनले चार खेलमा ९ विकेट लिएका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा ३८ खेलबाट ५४ तथा एकदिवसीयमा ७० खेलबाट ८० विकेट लिए ।
सन्यास घोषणा गर्दै वूडले भने, ‘इंग्ल्यान्डबाट खेल्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान थियो । चोटबाट फर्किने प्रयास बारम्बार गरेँ, तर यसपटक त्यो लडाइँ जित्न सकिनँ ।’
इंग्ल्यान्ड क्रिकेटका प्रबन्ध निर्देशक रोब कीले वुडलाई आफ्नो पुस्ताका सबैभन्दा रोमाञ्चक तीव्र गतिका बलरमध्ये एक भन्दै दुई विश्वकप र एसेस सफलतामा उनको योगदानको प्रशंसा गरेका छन् ।