। प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् ।
उनले मलेसियाको रोजगारीमा धेरै समस्या रहेको र त्यसबाट नेपाली श्रमिकहरु प्रताडित रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग मंगलबार बिहान टेलिफोनमार्फत कुराकानी गरेका थिए ।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्रीले शाहले मलेसियाली समकक्षीसँग राखेको कुरा उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिएका छन् ।
मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेका थिए ।
यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दैै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि यस्ता प्रबृत्तिको विरुद्धमा आफू रहेको उल्लेख गरेका छन् । ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु’ मलेसियाली प्रधानमन्त्रीले भनेका छन् ।