मुख्य समाचार
पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाए
पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् ।

सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् ।

ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन नपरेको समाचार प्रकाशित गरेकै आधारमा पत्रकारको पहुँच खोस्न नहुने बताएका छन् ।

‘सरकारले प्रेसले के रिपोर्ट गर्ने भन्ने निर्णय गर्न पाउँदैन भन्ने सिद्धान्तको रक्षा गर्न’ कानुनी बाटो रोजिएको उनीहरूको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सीएनएन, पोलिटिको र एमएस नाउलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उनले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘झुटा तथा काल्पनिक’ समाचार प्रकाशित गरेको आरोप लगाएका थिए । त्यसपछि शनिबार ती संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेश गर्न दिइएको थिएन ।

ट्रम्पले भने प्रतिबन्ध कुनै एउटा समाचारका कारण नभई पछिल्ला केही वर्षमा प्रकाशित समाचारहरूको समग्र प्रभावका कारण लगाइएको बताएका छन् । उनले न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टलाई पनि ‘फेक न्युज’ भन्दै अन्य सञ्चारमाध्यमलाई समेत प्रतिबन्धमा समेट्न सकिने संकेत गरेका छन् ।

टेलिभिजन नेटवर्कले ह्वाइट हाउसको पूल कभरेज रोके

सीएनएन माथिको प्रतिबन्धपछि अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कहरूले ह्वाइट हाउसको ‘टेलिभिजन प्रेस पूल’ बाट पछि हट्ने घोषणा गरेका छन् ।

राष्ट्रपति वा प्रधानमन्त्रीको कार्यक्रमजस्ता सीमित ठाउँमा धेरै सञ्चारमाध्यमका पत्रकारलाई एकैपटक प्रवेश दिन नसकिने अवस्थामा, केही मिडियाले मात्र कार्यक्रम कभर गर्ने र उनीहरूले तयार पारेको सामग्री अरू मिडियासँग पनि साझा गर्ने कामलाई ‘पूल कभरेज’ भनिन्छ ।

एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले संयुक्त विज्ञप्तिमा सरकारबारे सही र स्वतन्त्र सूचना प्राप्त गर्नु जनताको महत्वपूर्ण अधिकार भएको बताएका छन् ।

ट्रम्पको न्यूयोर्क भ्रमणमा ह्वाइट हाउसले एक टेलिभिजन संस्था ‘रियल अमेरिकाज भ्वाइस’लाई वैकल्पिक टोलीका रूपमा राखेको थियो ।
ह्वाइट हाउसमा राष्ट्रपतिको प्रत्यक्ष टेलिभिजन कभरेजका लागि यी पाँच नेटवर्कसँग आवश्यक पूर्वाधार र स्रोत रहेको बताइन्छ । तर सीएनएनलाई ट्रम्पको न्यूयोर्क भ्रमणमा पूल ड्युटी गर्न नदिएपछि सोमबारदेखि टेलिभिजन पूल नै सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

सीएनएनको ह्वाइट हाउस प्रेस क्षेत्रस्थित स्टुडियो पनि सोमबार खाली थियो । त्यसको सट्टा सीएनएनको टोलीले ह्वाइट हाउसको सुरक्षा क्षेत्रबाहिर सार्वजनिक सडकबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।

यसबीच ट्रम्पको न्यूयोर्क भ्रमणमा ह्वाइट हाउसले एक टेलिभिजन संस्था ‘रियल अमेरिकाज भ्वाइस’लाई वैकल्पिक टोलीका रूपमा राखेको थियो ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको सञ्चारमाध्यमको दाबी

सीएनएन, पोलिटिको र एमएस नाउले पत्रकारको परिचयपत्र तथा ह्वाइट हाउस प्रवेशको सुविधा बिना कुनै पूर्वसूचना वा प्रक्रियाविना खोसिएको बताएका छन् ।

उनीहरूले यस्तो निर्णयलाई चुनौती नदिइएमा प्रेस स्वतन्त्रता र सरकारबाट स्वतन्त्र पत्रकारिता गर्ने जनताको अधिकारमा खतरा उत्पन्न हुने चेतावनी दिएका छन् ।

अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रतालाई संरक्षण गरेको छ । अमेरिकी अदालतहरूले लामो समयदेखि सरकारले सञ्चारमाध्यमको समाचारको विषयवस्तु मन परेन भन्दै उनीहरूमाथि विभेद गर्न नहुने सिद्धान्तलाई मान्यता दिँदै आएका छन् ।

यसअघि पनि सञ्चारमाध्यमसँग ट्रम्प प्रशासनको विवाद

ट्रम्प प्रशासनले यसअघि पनि सञ्चारमाध्यमको पहुँचलाई लिएर विवाद उत्पन्न गरेको थियो ।

सोमबार ह्वाइट हाउसले आफ्नो वेबसाइटमा ‘ट्रम्प टीभी’ नामको स्ट्रिमिङ च्यानल पनि सुरु गरेको छ ।
फेब्रुअरीमा ह्वाइट हाउसले राष्ट्रपतिसम्म पहुँच पाउने प्रेस पूलको व्यवस्थापनमा नियन्त्रण लिएको थियो । यसअघि एक शताब्दीभन्दा बढी समयदेखि यस्तो पूलको व्यवस्थापन ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनले गर्दै आएको थियो ।

त्यही महिना एसोसिएटेड प्रेस (एपी) का पत्रकार तथा फोटोग्राफरलाई ओभल अफिस र एयर फोर्स वानजस्ता सीमित पहुँच हुने स्थानमा प्रवेश गर्न रोक लगाइएको थियो ।

एपीले ‘गल्फ अफ अमेरिका’को सट्टा ‘गल्फ अफ मेक्सिको’ शब्द प्रयोग गरेको विषयलाई लिएर ह्वाइट हाउसले यस्तो कदम चालेको थियो। त्यसविरुद्ध एपीले दायर गरेको मुद्दा अझै विचाराधीन छ ।

यसअघि सन् २००९ मा बाराक ओबामा प्रशासनले पनि एउटा सरकारी अधिकारीसँगको प्रेस पूल अन्तर्वार्तामा फक्स न्युजलाई सहभागी हुन नदिने प्रयास गरेको थियो । तर अन्य टेलिभिजन नेटवर्कको विरोधपछि फक्स न्युजलाई पहुँच दिइएको थियो । त्यतिबेला एउटा अन्तर्वार्तामा मात्र रोक लगाइएको थियो ।

ह्वाइट हाउसको वेबसाइटमा ‘ट्रम्प टीभी’ नामको स्ट्रिमिङ च्यानल

ट्रम्पले भने लामो समयदेखि अमेरिकी सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन् । उनको प्रशासनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र बीबीसीसहित विभिन्न सञ्चारमाध्यमविरुद्ध कानुनी कारबाहीसमेत अघि बढाएको छ ।

यसैबीच, सोमबार ह्वाइट हाउसले आफ्नो वेबसाइटमा ‘ट्रम्प टीभी’ नामको स्ट्रिमिङ च्यानल पनि सुरु गरेको छ । च्यानलको सुरुवात ट्रम्पले जुलाईमा माउन्ट रशमोर भ्रमणका क्रममा दिएको अभिव्यक्तिबाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सन् २०२९–३० को दुईवर्षे कार्यकालका लागि अस्ट्रेलियाको उम्मेदवारी अभियान सुरु गरेका हुन्। अस्ट्रेलियाले सुरक्षा परिषद्‌मा रहेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, द्वन्द्व रोकथाम, जलवायु तथा समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा भूमिका खेल्ने ...
: सिरियाको उत्तरी क्षेत्रस्थित अलेप्पो प्रान्तको अल-ऐस सहरमा सोमबार बिहानै शृङ्खलाबद्ध विष्फोट भएका छन्। सिरियाली सरकारी टेलिभिजन 'अल-इखबरिया' लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय रक्षा मन्त्रालयसँग सम्बद्ध एक हतियार डिपोलाई लक्षित गरी ती विष्फोटहरू भएका हुन्। विष्फोटबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण आउन बाँकी छ। घटनालगत्तै सम्बन्धित निकायले सो क्षेत्रको अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको ...
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताएका छन् । संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताएका हुन् । ‘केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्,’ गालिबाफले भने । उनले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार ...
। यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न ...
। अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना दूतावास र नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यस क्षेत्रमा बढ्दो तनावबीच मानिसहरूलाई थप सतर्क रहन आग्रह गरेको छ। अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सावधान रहन भनेको छ। पश्चिम एसियामा जारी द्वन्द्व तीव्र रूपमा बढ्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम