: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए।
विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा शिक्षामन्त्री, रक्षा सचिव, शिक्षा सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ।
नागरिक प्रशासनको मुख्य भूमिका गृह प्रशासनले निर्वाह गर्ने उल्लेख गर्दै उनले केन्द्रदेखि स्थानीय तहसम्म यसको भूमिका महत्त्वपूर्ण हुने बताए। त्यसैले समितिमा गृह प्रशासनको प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो।
‘हामीले अरूको हुबहु राख्नुपर्छ भन्ने छैन। नेपालको आफ्नै मौलिकता छ। त्यही सुहाउँदो व्यवस्था गरिनुपर्छ,’ उनले भने।
राष्ट्रिय स्वाधीनतामाथि खलल पुग्ने अवस्था आएमा राष्ट्रिय सेवा दलको सान्दर्भिकता अझ बढी हुने उनले बताए। अहिले विपद्लगायतका विषय पनि रहेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ।
विधेयकमा १३ देखि २१ वर्ष उमेर समूहलाई समेटिएको उल्लेख गर्दै उनले २१ वर्षभन्दा माथिका व्यक्तिले पनि सहभागी हुन चाहेमा त्यसको व्यवस्था गर्नुपर्ने धारणा राखे।