: अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा बेपत्ता भएका र मृतकका परिवारका लागि आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले परिवारको सहारा र आम्दानीको स्रोत गुमाएकाले आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका हुन्।
उनले रामेछापका ४५ जनासहित देशभरका ६ हजारभन्दा बढी परिवार अहिले गहिरो पीडामा रहेको बताए। ‘बेपत्ता हुनुभएका धेरैजसो रोजगारीकै सिलसिलामा रसुवा पुग्नुभएको थियो। रामेछापका करिब ४५ जनासहित देशभारका ६ हजारभन्दा बढी परिवार अहिले गहिरो पीडामा हुनुहुन्छ। यी परिवारले राज्यबाट ठूलो आशा र भरोसा राखेका छन्।’ ‘त्यसैले बेपत्ता नागरिकका परिवारका लागि आवश्यकता अनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर, बालबालिकाको शिक्षा र परिवारको सामाजिक सुरक्षालाई समेट्ने गरी आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारको विशेष ध्यानाकर्षण गर्दछु।’
उनले ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’लिएर रामेछापका नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्न गाउँघर पुग्दा बाढीपीडितले दुःख र गुनासाहरू सुनाएको उल्लेख गरे। सांसद बुढाथोकीले भने, ‘रसुवा बाढीपहिरामा परी बेपत्ता भई काजक्रियामा रहनुभएका तीन परिवारसँग भेट भयो। उहाँहरूले अत्यन्त पीडादायी ढंगले आफ्ना दुःख र गुनासाहरू राख्नुभयो। उहाँहरूको भनाइ थियो—हामीले छोरा मात्र होइन, परिवारको सहारा, आम्दानीको स्रोत र भविष्यको आधार नै गुमाएका छौं। अब यी नातिनातिनीलाई कसरी पढाउने, कसरी हुर्काउने?’