। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनमा परिवर्तनलाई जोड्नका लागि व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए ।
‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ । जसले नागरिकमा आशा जोगाउन सकोस्,’ राष्ट्रपति पौडेलले भने, ‘नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ, न त व्यवस्था । किनभने हामी सबैले बुझ्नुपर्छ, शासकीय संरचनामा आउने परिवर्तनले मात्रै युगका अपेक्षा पूरा हुँदैन ।’
उनले संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पनि आग्रह गरे ।
‘आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौं,’ राष्ट्रपति पौडेलले भने, ‘हामीले अनेकौं संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधानको साँचो अर्थ त्यही दिनमा बोध हुनेछ, जुन दिन कुनै नेपालीले न्याय, सम्मान, सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने छैन ।’