। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् ।
‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचन, यी तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण । यो प्रकृयाबाट नै नेकपा एमाले पुनर्जागण हुनसक्छ ।’
गएको एक वर्षको पार्टीको समग्र समीक्षा गर्नुपर्ने पनि उनले बताए । ‘हामीले घटनाहरूलाई हेर्ने दृष्टिकोणमा कहाँकहाँ गल्ती गर्यौं ? त्यसलाई सच्याउने, जनतासँगको सम्बन्ध कहाँ टुट्यो ? त्यहाँ सच्याउने, नवयुवा हाम्रो पार्टीमा किन आएनन् ? त्यसलाई विश्लेषण गरेर सच्याउने । यही नै एमाले र मुलुकको आवश्यकता हो,’ उनले भने ।
एमाले पुनर्जागरण र पुनर्गठनका लागि गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को कार्यदलले अहिलेसम्म निष्कर्ष दिन नसकेको उनले बताए । कार्यदलले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिएअनुसार प्रतिवेदन आएपनि त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चित्त नबुझाएको उनले बताए ।
अध्यक्षकै निर्देशनअनुसार उपाध्यक्ष बादलबाट अर्को प्रतिवेदन आएकाले दुवै प्रतिवेदनमाथि छलफल भइरहेको नेता भट्टराईले जानकारी दिए ।