: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा सोही आर्थिक वर्षमा दर्ता भएका ३३ हजार ५१९ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार ३२३ वटा उजुरी कायम भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
जसमध्ये स्थानीय तहसँगसम्बन्धी उजुरी २० हजार २५ अर्थात् ४९ दशमलव ०३ प्रतिशत रहेको छ भने सङ्घीय तहसँग सम्बन्धीत १५ हजार ५१२ वटा अर्थात् ३७ दशमलव ९८ प्रतिशत र सबैभन्दा कम प्रदेश तहको ५ हजार ३०५ अर्थात् १२ दशमलव ९९ प्रतिशत रहेका छन् ।
प्रवक्ता न्यौपानेले सङ्घतर्फ परेका उजुरीहरूमध्ये सबैभन्दा बढी भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ वटा रहेको जानकारी दिए।
उनले विशेष अदालतबाट प्राप्त १५६ वटा फैसलामध्ये ८१ वटा मुद्दामा कसुर स्थापित भएको र सर्वोच्च अदालतमा १०४ वटा पुनरावेदन दर्ता गरिएको जानकारी दिए । आयोगले उजुरी छानबिनका साथै सम्पत्ति शुद्धीकरण,शिक्षा,सूचना प्रविधि,भूमि प्रशासन र धितोपत्रलगायतका निकायहरूसँग समन्वय गरी सार्वजनिक निकाय र पदाधिकारीहरूलाई विभिन्न सुधारका सुझाव दिएको जनाएको छ ।
आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको थियो ।