: रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि तेर्गार गुम्बा नेपाल र तेर्गार संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
योंगे मिङ्युर रिन्पोछेको तर्फबाट उक्त रकमको चेक बिहीबार नेपाल सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरिएको हो। बाढीपछि तत्काल उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको तेर्गार गुम्बाको सामाजिक सेवा शाखा तेर्गार फाउन्डेसनले उद्धारकर्मीका लागि आवश्यक उपकरण तथा साधनसमेत उपलब्ध गराएको जनाएको छ।
गुम्बाले बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्ति तथा शोकसन्तप्त परिवारको कल्याणको कामना गर्दै नियमित प्रार्थनासमेत गर्दै आएको छ। तेर्गार गुम्बाका भिक्षुहरूले मृतकहरूको आत्माको चिरशान्तिका लागि हरेक साता विशेष प्रार्थना गरिरहेको जनाइएको छ।