। जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो ।
तेस्रो सेटमा पनि इन्डोनेसियाले लय कायम राख्दै सुरुवात देखि नै अग्रता लिएको थियो र अन्तिममा २५-२० ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको छ ।
समूह ए मा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा पराजित भएको थियो ।
तीन टोली मात्रै रहेको समूह ए मा नेपालले लगातार दुई खेल हारेपछि घरेलु टोली जापान र इन्डोनेसिया एक खेल अगावै क्वाटरफाइन प्रवेश गरेका छन् । अब यी दुईबीच हुने खेल समूह विजेता बन्नका लागि निर्णायक हुनेछ ।
समूहको दुवै खेलमा पराजित भएपछि नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना सकिएको छ । अब नेपालले नवौं देखि १४औं स्थानका लागि हुने क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।
अन्य समूहको खेलहरु सकिएपछि नेपालले अब खेल्ने प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ ।
२०औं एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
एसियन गेम्सको औपचारिक उद्घाटन कार्यक्रम सेप्टेम्बर १९ (शनिबार) भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भने त्यसअघि नै सुरु भइसकेको छ ।
बास्केटल, फुटबल, भलिबल र मोडर्न पेन्टाथलनका खेलहरु भइरहेका छन् भने आजदेखि महिला क्रिकेट र टेकबल पनि सुरु भएको छ ।