। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।
पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको बताए ।
‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु । त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु,’ सभापति थापाले भने ।
उनले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
‘छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस् । आवास, भोजनलगायतका विभिन्न समितिहरू बनाएर सम्पूर्ण लजिस्टिक व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने, ‘यस विषयमा हामी थप छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ । महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको छ । त्यसैले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने हाम्रो प्रयास हुनेछ ।’