: चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ।
भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार चिलिमे हाइड्रोको सुरुङमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एउटा मानव अंग फेला परेको हो।
गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला पारेको नेपाली सेनाले जनाएको छ। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि उक्त सुरुङबाट एक शव र एक मानव अंग फेला परेको थियो।
यसैबीच लाङ्गटाङ जलविद्युत आयोजनाको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। माथिल्लो त्रिशूली-१ को सुरुङभित्र पनि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ।
त्रिशूली-३ ए को सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको सेनाले जनाएको छ।