मुख्य समाचार
बाढीले क्षति पुर्‍याएको नुवाकोटका विभिन्न झोलुंगे पुलको मर्मतकार्य
बाढीले क्षति पुर्‍याएको नुवाकोटका विभिन्न झोलुंगे पुलको मर्मतकार्य

: अकल्पनीय रूपमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटका विभिन्न झोलुंगे पुलको मर्मतकार्य सुरु भएको छ। सर्वसाधारणको कनेक्टिभिटी (सम्पर्क सम्बन्ध)मा जोड दिँदै प्रलयकारी बाढीले क्षति पुर्‍याएका पुलहरूको मर्मत सुरु भएको हो।

विदुर नगरपालिका–३ मैरीटार र बेलकोटगढी नपा–८ ठूलोखोला जोड्ने झोलुंगे पुल बाढीले क्षति गरेकोमा त्यसको धमाधम मर्मतकार्य भइरहेको विदुर नपाका मेयर राजन श्रेष्ठले बताए। मर्मतसँगै आवागमनमा सहजता आउने उनले जनाए। भदौ १० गते बुधबार बिहान १० बजे आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न पक्की तथा झोलुंगे पुलमा क्षति गरेको थियो। बाढीले क्षति गरेको र मर्मत गरेर सुचारु गर्न सकिने पुलहरूको धमाधम मर्मतकार्य भइरहेको छ।

सरकारद्वारा बाढीका कारण क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते तथा फोस्रेटार र नुवाकोटभित्रकै गाउँहरू जोड्ने पिपलटार–जागारामका झोलुंगेलगायत विभिन्न क्षतिग्रस्त भएका पुलहरूको मर्मतकार्य तीव्र रूपमा अघि बढाइएको छ। क्षतिग्रस्त पुलहरूको मर्मतसँगै स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यसका साथै बाढीले तहसनहस गरेको त्रिशूली नदीका विभिन्न स्थानमा आवतजावत सहज बनाउन विभिन्न चार स्थानमा तुइन र एक स्थानमा जिपलाइन जडान गरिएको छ। जडानसँगै सञ्चालनसमेत गरिएको छ।

बाढीका कारण विपद्को अवस्थामा पीडामा रहेका आमसर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले बुधबारसम्म नुवाकोटका विभिन्न स्थानमा चार वटा तुइन र एउटा जिपलाइन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुर नपा–१ इन्द्रायणीघाटदेखि विदुर नपा–१ गुम्बाडाँडा जोड्ने, विदुर नपा–४ सिमचौर रंगबारीदेखि विदुर नपा–१२ गौरीबेंसी जोड्ने, विदुर नपा–५ देवीघाटदेखि विदुर नपा–३ फिर्केप जोड्ने तुइन जडान भई सञ्चालनसमेत गरिएको छ। यसका साथै विदुर नपा–१ इन्द्रायणीघाटदेखि विदुर नपा–१ त्रिशूली बसपार्कसम्म एक थान जिपलाइनसमेत सञ्चालन गरिएको छ।

साबिक त्रिशूली बसपार्कसम्म पुग्न सहज बनाउने उद्देश्यले जिपलाइन सञ्चालनमा ल्याइएको हो। उक्त जिपलाइनबाट छोटो समय (करिब ३० देखि ३५ सेकेन्ड) मा इन्द्रायणीचौरबाट पारि त्रिशूली बसपार्कतर्फ जान सकिने भएको छ। एकपटकमा एकजना जाने गरेर सञ्चालनमा ल्याएको जिपलाइन सुचारु भएको छ।

नदी वारपारका लागि पुल निर्माण तथा अन्य वैकल्पिक आवतजावतको व्यवस्था नभएसम्म जिपलाइन सेवा निरन्तर सञ्चालन भइरहने व्यवस्था मिलाइएको छ। जिपलाइन सञ्चालनमा प्राविधिक सहयोग विदुर नपाका मेयर राजन श्रेष्ठको आग्रहमा दरबार एड्भेन्चर जिपलाइन नुवाकोटमार्फत सहजीकरण भएको विदुर नपाले जनाएको छ।

घामपानी नभनी विपद्को समयमा निरन्तर खटिएर नागरिकको आवतजावत सहज बनाउन गरिएको उक्त प्रयासले प्रभावित क्षेत्रका स्थानीयवासीलाई महत्वपूर्ण सुविधा पुगेको छ। अन्य स्थानमा समेत आवतजावत सुचारु गर्नका लागि विशेष कार्य सुरु भएको मेयर राजन श्रेष्ठले बताए।

पहिरो हटाएर सडक सुचारु
भोटेकोशी हुँदै रसुवागढीबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले मुख्य सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि नुवाकोटमा अवरुद्ध भएको सडक सुचारु गर्ने कार्य भइरहेको छ। नयाँ ट्र्याक खनेर देवीघाट–गल्छी सडक १७ दिनमा सञ्चालनमा ल्याइएको छ। उक्त सडकबाट आवतजावत सुचारु भएको छ। उक्त सडकमार्गको बीचमा रहेको बेलकोटगढी नगरपालिका–७ महादेवफाँट पुछार छबिसे धन्सारमा बाढीले सडकसहित कटान गरेपछि दुई सातासम्म लगातार दैनिक पाँच थान एक्स्क्याभेटरमार्फत नयाँ ट्र्याक खोल्ने कार्य गरिएको थियो। भदौ १४ गते आइतबारदेखि उक्त स्थानमा त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि यातायात ठप्प भएको थियो। लगातारको मर्मत र नयाँ ट्र्याक खोलिएपछि यातायात सञ्चालन सुचारु भएको बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले बताए।

बाढीले पुल ध्वस्त पारेर अवरुद्ध भएको नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा हिँडडुलका लागि अस्थायी संरचनाको निर्माण सुरु गरिएको छ। त्रिदेशीय मार्गअन्तर्गत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकमार्गमा रहेको नुवाकोटको विदुर नपा–१० बेत्रावतीमा त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले ठूलो भौतिक तथा मानवीय क्षति गरेको थियो। नुवाकोटको विदुरबाट बेत्रावती पुग्न सहज पहुँच मार्ग छैन। मर्मतकार्य जारी रहेको छ।
यसअघिको मुख्य सडकअन्तर्गत झन्डै दुई किलोमिटर सडक क्षतिग्रस्त हुँदा आवतजावतमा ठूलो समस्या रहेको वडाध्यक्ष गणेशकुमार नेपालको भनाइ छ। उनका अनुसार तत्काल सडक सञ्चालन आवश्यक रहेको छ। जसअनुसार बेत्रावतीमा नुवाकोट–रसुवा जोड्ने फड्के निर्माण सुरु गरिएको छ। चार दिनअगाडि दुई दिन लगातार बनाइएको फड्के बाढीले बगाएपछि बुधबारदेखि फेरि अर्को फड्केको पुनर्निर्माण सुरु गरिएको स्थानीयवासी बताउँछन्।

बाढीले बेत्रावती बजारस्थित नुवाकोट र रसुवा जोड्ने दुई पक्की पुलमा क्षति पुर्‍याएपछि १८ दिनदेखि आवागमन ठप्प रहेको छ। खोज तथा उद्धारका लागि बेत्रावती पुगेको संयुक्त सुरक्षाकर्मीको टोलीलाई स्थानीयवासीले नुवाकोट–रसुवा जोड्न फड्के भए पनि निर्माण गर्न आग्रह गरेका थिए।

स्थानीयको आग्रहअनुसार फड्के निर्माणको काम सुरु भएको हो। बेत्रावतीमा निर्माण भइरहेको फड्केबाट रसुवा र नुवाकोट चाँडै जोडिने आशा गरिएको छ। यता, विदुर नगरपालिकाको वडा नं ५ देवीघाट र विदुर–३ फिर्केप वारपार गर्न त्रिशूली नदीमा झोलुंगे पुलको निर्माणकार्य सुरु हुने भएको छ। विदुर नपा कार्यालयको तर्फबाट मेयर राजन श्रेष्ठले ब्रिटिस गोर्खाज नेपालसँग पुल निर्माणका लागि समझदारी गर्दै केही दिनभित्रै काम सुरु गर्न लागिएको जनाइएको छ।

पुल निर्माणका लागि गरिएको प्राविधिक सर्वेक्षणअनुसार झन्डै १ सय ९० मिटर लामो नयाँ झोलुंगे पुल निर्माण गर्न लागिएको मेयर राजन श्रेष्ठको भनाइ छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले सडक, पुललगायतका संरचना बगाएसँगै हाल विदुर नगरवासी एक ठाउँबाट अर्को स्थानमा जान भइरहेको असहज परिस्थितिलाई सहज बनाउनका लागि उक्त समझदारी गरिएको हो।

नगर विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय भएअनुसार विदुर नपा–४ सिमचौरबाट विदुर–१२ गौरीबेंसी जोड्ने त्रिशूली नदीमा बेलिब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। मेयर राजन श्रेष्ठको पहलमा उक्त स्थानमा यसै सातादेखि तुइन सञ्चालनमा ल्याइएको छ।
उक्त स्थानमा छिट्टै बेलिब्रिज निर्माणका लागि आवश्यक निकायहरूसँग समन्वय गरेर काम अघि बढाउन लागिएको छ। यसबाट नुवाकोटको पश्चिमी भेग जोडिने जनाइएको छ।

बाढीले बगाएका दुईवटा लकर भेटियो
नुवाकोटका विभिन्न स्थानमा दुईवटा लकर फेला परेको छ। बाढीले क्षति गरेको झोलुंगे पुल मर्मत र बाढीको फोहोर सफा गर्ने क्रममा बुधसिंघाट र त्रिशूली बजारमा लकर भेटिएको हो।

विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–७ जोड्ने झोलुंगे पुल क्षतिग्रस्त भएपछि मर्मतसम्भार गर्ने क्रममा बुधसिंघाटमा एक थान लकर भेटिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा टोलीमार्फत पुल मर्मतकार्यका लागि भइरहेको सहजीकरणमा लकर भेटिएसँगै सुरक्षाकर्मीको टोलीबाट उक्त लकरको संरक्षण गरिएको छ।

यता, विदुर नपा–१ त्रिशूली बजारमा एक थान सेफ भेटिएको छ। बाढीको फोहोर सफा गर्ने क्रममा बुधबार त्रिशूली बजारभित्र मूल चोकबाट बसपार्कतर्फ ३–४ घर अगाडि एउटा सेफ भेटिएको प्रहरीले जनाएको छ।
उक्त लकर र सेफ कसको हो ? र त्यसमा के छ ? भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ। उक्त सेफ कसैको भएको भए तुरुन्त प्रहरीलाई खबर गरी स्थानीय टोलवासीको रोहबरमा सुरक्षित रूपमा लैजान प्रहरीले अनुरोध गरेको छ।

बाढीले बगाएको त्रिशूली क्याम्पस स्थानान्तरण
भोटेकोशी हुँदै रसुवागढीबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले सिनित्त पारेको नुवाकोटको त्रिशूलीस्थित क्याम्पस पुनस्र्थापना गरिएको छ। क्याम्पस स्थानान्तरण गरी कार्यालय सञ्चालन गरिएको छ।
भदौ १० गते बुधबार बिहान १० बजे आएको प्रलयकारी बाढीले विदुर नगरपालिका–१ त्रिशूली बजारमा रहेको त्रिभुवन त्रिशूली क्याम्पसको सम्पूर्ण संरचना बगायो। तीन सातापछि उक्त क्याम्पस अस्थायी रूपमा स्थानान्तरण गरिएको हो।

विनाशकारी बाढीबाट बढारिएको त्रिशूली क्याम्पसले बुधबारदेखि साबिक स्टार बोर्डिङ रहेको प्राधिकरणको भवनबाट कार्य सञ्चालन सुरु गरेको छ। क्याम्पस सञ्चालनसँगै नयाँ भर्ना, प्रशासनिक काम तथा परीक्षासम्बन्धी सम्पूर्ण कार्य सुचारु भएको क्याम्पसले जनाएको छ। स्नातक तहको प्रथम वर्ष र तेस्रो वर्षको परीक्षा फाराम खुला भएकाले फाराम भर्न छुटेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा सम्पर्क गरी फाराम भर्न क्याम्पसले अनुरोध गरेको छ। विपत्तिले भौतिक संरचना भत्काए पनि शैक्षिक यात्रा निरन्तर अघि बढाइएको उक्त क्याम्पसका अध्यक्ष राजेशमान श्रेष्ठले बताए।

नुवाकोटको पश्चिमी भेग र रसुवा जाने मूल सडकमार्ग रहेको ऐतिहासिक ढुंगेबजारलाई बाढीले तहसनहस गरेपछि उक्त स्थानको मौलिकता संरक्षण गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन्। सुरक्षित रूपमा उक्त स्थान पुनः उठाउनुपर्ने युवा समुदायले माग गरेका छन्।

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ऐतिहासिक ढुंगेबजार क्षेत्र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण यतिबेला बगरमा परिणत भएको छ। बाह्रैमहिना सधैं चहलपहलले व्यस्त र भरिभराउ रहने ऐतिहासिक ढुंगेबजार बाढीको विनाशपछि उजाड बगर बनेको छ।

यद्यपि, अब हामीले यही बगरबाट ढुंगेबजारलाई फेरि माथि उठाउनुपर्ने समय आएको स्थानीय युवा राजु शाक्यको भनाइ छ। उनका अनुसार यो केवल ढुंगेबजार पुनर्निर्माणको विषय होइन, नुवाकोटको इतिहास, पहिचान र भविष्यलाई पुनः उभ्याउने अभियान हो।
ढुंगेबजारलाई फेरि जीवन्त बनाउन सबैको साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको अर्का युवा राजेन्द्र धमलाको भनाइ छ। ढुंगे नुवाकोटको विदुर र त्रिशूलीको बीचमा रहेको छ।

पूर्वप्रधानमन्त्री भट्टराई बाढीग्रस्त नुवाकोटमा

चीनको भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट अकल्पनीय रूपमा आएको बाढीले गरेको क्षतिको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका छन्। बाढी आएको २२ दिनपछि भट्टराईले दलबलसहित नुवाकोटको विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका हुन्।null​​​​​​​

भदौ १० गते बुधबार भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा हजारौँ घर, सयौं पुल, जलविद्युत्, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो। डा. भट्टराईले बाढीग्रस्त नुवाकोटको विभिन्न बजारको अवलोकन गर्नुका साथै जनप्रतिनिधिसँग बाढीले गरेको क्षतिका सम्बन्धमा जानकारीसमेत लिए।

बाढीको क्षतिको पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा स्थलगत अवलोकनका साथै जानकारी लिइएको हो। उनले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको प्रभाव तथा अहिलेको अवस्थाबारे बाढीग्रस्त स्थलका साथै विदुर नगरपालिकाको कार्यालयमा पुगेर जानकारी लिएका हुन्। उनले जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्रविक्रमसिंह ठकुरी, विदुर नपाका मेयर राजन श्रेष्ठ, रास्वपा नुवाकोट सभापति रामेश्वर गजुरेललगायतसँगको अन्तरक्रियात्मक छलफलमा बाढीबाट नुवाकोटमा भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा पछिल्लो परिस्थितिबारे जानकारी लिएका हुन्। उनले पुनस्र्थापनाका लागि तीनै तहको सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए।

बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौं व्यक्ति घरबारविहीन भएका छन्। पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफ्ना कार्यकर्ताको दलबलसहित पुगेर बाढीग्रस्त नुवाकोटको ढुंगे र त्रिशूली बजार तथा भग्नावशेष भएको स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेन–जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झन्डै दुईतिहाइ बहुमतसहित रास्वपा सत्तामा पुग्यो । त्यसपछि ‘पुराना र नयाँ’ बीचको द्वन्द्वले राजनीतिक तिक्तता बढाएको थियो । दलहरू एउटै मञ्च सेयर गर्न पनि आनाकानी गर्थे । तर, भोटेकोशी बाढीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँ उभिएका छन् । राहत र उद्धारका लागि मिलेर काम गर्न ...
: उदयपुरगढीको अँधेरीमा ट्रक र माईक्रो (हायस) एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्। बुधबार बिहान १० बजे कटारीबाट गायघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुबाहक माईक्रो बस (हायस) उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय ...
: नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टी पुगेको छ। चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागी हुन टोली त्यहाँ पुगेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए। उनका अनुसार चार दिनसम्म ...
: वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित वास्तु बिहार चोक नजिक सडकमा बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्रबाट सशस्त्र प्रहरीले ४ थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सिक्सर पेस्तोल ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार तीनदिने भारत भ्रमणमा जान लागेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको छ। ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने जनाइएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम