। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ ।
बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताए ।
‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावना अनुसार अन्य ग्राहकबाट भुक्तानी भएको विद्युत् शुल्कसमेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ ।
त्यस्तै बाढीबाट क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायत ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ । मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुन: विद्युत् सेवा लिन नयाँ मिटर माग गरे प्राधिकरणले नि:शुल्क मिटर उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिने विषयमा अध्ययन गर्न पनि प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ ।
बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन क्रममा रहेकाले ती क्षेत्रका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न प्राधिकरणलाई भनिएको हो ।
प्राधिकरणले उक्त अध्ययनका आधारमा यसै साता बाढी प्रभावित ग्राहकलाई विद्युत् महसुलमा दिइने थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ ।
बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट समेत राहत दिलाउने उद्देश्यले सहजीकरण अघि बढाइएको हो ।