। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् ।
नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् । ललितको रेटिङ अंक बढेर ५०९ भएको छ भने सन्दीपको ४९१ छ ।
गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा गरेको प्रदर्शनबाट उनीहरूको वरियतामा सुधार भएको हो । प्रिमियर कपमा ओमानसँगको सेमिफाइनल र यूएईसँगको फाइनल ओडीआई मान्यताको थियो ।
ललितले ओमान र यूएईविरुद्ध समान २ विकेट लिएका थिए । सन्दीपले ओमान विरुद्ध ३ तथा यूएई विरुद्ध १ विकेट लिए ।