: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ।
मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो।
फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित र उस्मानीले अम्पायरको निर्देशन नमानेको बताइएको छ। उनीहरूलाई आइसीसीको लेभल १ अन्तर्गत खेल शुल्कको १५ प्रतिशत जरिवाना घोषणा गरिएको हो। यी दुवै खेलाडीले आइसिसीको धारा २।४ को उल्लङ्घन गरेको भन्दै यी दुई खेलाडीलाई आइसिसीले कारबाही गरेको छ।
यस्तै, युएईका अर्का खेलाडी खुजाइमा विरुद्ध भने १० प्रतिशत म्याच फी काटिने गरी कारबाही घोषणा भएको छ। उनले आइसीसीको धारा २.२ अन्तर्गत क्रिकेट सामग्री तथा मैदानको उपकरण बिगार्ने दण्ड प्राप्त गरेका हुन्। उनले ४६औं ओभरमा आउट भएपछि ब्याटले स्टम्पमा प्रहार गरेका थिए।
यी तिनै खेलाडीले पछिल्लो २४ महिनाभित्र कुनै पनि आचरसंहिता उल्लङ्घन नगरेको भएकाले यी खेलाडीमाथि थप कारबाही तथा निलम्बनमा नै लागू गरिने छैन। तिनै खेलाडीको अनुशासन अभिलेखमा १र१ डिमिरेट अङ्क थपिएको छ। मैदानमा रहेका अम्पायर कालिदास विश्वनाथन र तवारक दर तथा रिजर्भ अम्पायर विनोद बाबुले कारबाहीको विषयमा आइसिसीलाई जानकारी दिएका थिए। तिनै खेलाडीले आआफ्नो गल्ती स्वीकार गरेको बताइएको छ।