: मनसुनजन्य तथा अन्य सम्भावित विपद् प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकायलाई आवश्यक उद्वार सामग्री उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले मंगलबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई लाइफ ज्याकेट, सेफ्टी बेल्ट, पानी बुट, फायरबल, फोल्डिङ स्ट्रेचर,कटर, ग्रीन्डर,सर्च लाइट, ट्युब, कड, मेघाफोन टुचिङ तारलगायत १७ प्रकारका उउद्वार सामग्री हस्तान्तरण गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुखसमेत रहेका प्रजिअ खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल २२ नम्बर गण र नेपाली सेनाको रणशेर गणका प्रमुखलाई ती सामाग्री हस्तान्तरण गर्दै सम्भावित विपदमा तम्तयार रहन निर्देशन दिए। ‘विपद् आउनु अघि नै तयारी अवस्थामा रहे क्षति रोक्न वा, कम गर्न सकिन्छ।,’उनले भने ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बमोजिम उद्धार सामाग्री हस्तान्तरण गरिएको प्रजिअ खड्काले प्रतिक्रिया दिएका छन्। मनसुन सकिनै लाग्दा सोमबार साँझ अकस्मात जिल्लाका मनोहरा र हनुमन्ते नदीमा उच्च बहाव बढेपछि थप सतर्कता अपनाइएको समेत उनले बताए। आफूले प्रभावित क्षेत्रको अनुगमन गर्दा कुनै मानवीय र भौतिक क्षति नदेखिएको उनको भनाइ छ।.‘सोमबारको बाढीले केही खेत र टहरामा पानी पसेको देखियो, कुनै मानवीय र भौतिक क्षति भएन।,’उनले भने।
मनोहरा र हनुमन्ते नदी तथा सहायक खोलाहरूमा मनसुनको समयमा पानीको सतह बढेर बस्ती डुबान हुनु भक्तपुरको प्रमुख समस्या रहेको छ। भिरालो जमिन धेरै भएकाले वर्षामा पहिरोको जोखिम पनि उत्तिकै देखिन्छ। यसबाहेक कहिलेकाहीँ आगलागी, हावाहुरी, चट्याङ र रोगब्याधीको चपेटामा समेत भक्तपुर पर्ने गरेको छ। प्राप्त उद्वार सामाग्रीले सुरक्षा निकायलाई विपदमा उद्वार कार्य गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।