: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ।
चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ सदस्य हुनेछ।
त्यसमा ८१५ खेलाडीले ३८ खेलका ३६९ विधामा प्रतिस्पर्धा गर्नेछन्। टोलीमा ४११ पुरुष र ४०४ महिला खेलाडी छन्। चीनले एसियाली खेलकुदमा आफ्नो लामो समयदेखिको प्रभुत्वलाई निरन्तरता दिने लक्ष्यसहित युवा खेलाडीलाई ठूलो संख्यामा अवसर दिएको छ।
चिनियाँ टोलीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको औसत उमेरसँगै त्यसमा रहेको पुस्तान्तरण हो। ८१५ खेलाडीमध्ये एक चौथाइभन्दा बढी २० वर्ष वा त्यसभन्दा कम उमेरका छन्। चिनियाँ विवरणअनुसार सन् २००५ पछि जन्मिएका खेलाडीले टोलीको २७ प्रतिशत हिस्सा ओगटेका छन्। यसको अर्थ चीनले आइची/नागोया एसियाली खेलकुदलाई तत्कालको पदक जित्ने अवसरसँगै भविष्यका अन्तर्राष्ट्रिय स्टार तयार गर्ने मञ्चका रूपमा समेत प्रयोग गरेको छ।
१२ वर्षदेखि ४१ वर्षसम्मका खेलाडी
चिनियाँ टोलीमा सबैभन्दा जेठा खेलाडी ४१ वर्षीय सुटिङ खेलाडी वान आनताओ हुन् भने सबैभन्दा कम उमेरकी खेलाडी १२ वर्षीया स्केटबोर्डर काओ शिछी हुन्। एउटै टोलीमा १२ देखि ४१ वर्षसम्मका खेलाडी हुनु चीनको खेलकुद संरचनामा नयाँ पुस्ता र अनुभवी पुस्ताबीचको व्यापक संयोजनलाई देखाउनु हो। टोलीका ५४८ खेलाडी पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुँदैछन्।
अर्थात् ८१५ मध्ये करिब दुई तिहाइ खेलाडीका लागि आइची÷नागोया पहिलो एसियाली खेलकुद अनुभव हुनेछ। यसले चीनले आफ्नो स्थापित स्टारमाथि मात्र निर्भर नभई नयाँ पुस्तालाई पनि उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परीक्षण गर्न खोजेको स्पष्ट हुन्छ। यस्तै ३०६ खेलाडीले यसअघि ओलम्पिक वा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका छन्। यस समूहमा ठूलो अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी छन्, जसले नयाँ खेलाडीलाई दबाबपूर्ण परिस्थितिमा प्रतिस्पर्धा गर्ने अनुभव बाँड्न सक्नेछन्।
३६ ओलम्पिक च्याम्पियनको साथ
चिनियाँ टोली युवा भए पनि अनुभवको कमी भने छैन। टोलीमा ३६ ओलम्पिक च्याम्पियन सहभागी हुँदैछन्। पौडी, आर्टिस्टिक स्विमिङ, ब्याडमिन्टन, बक्सिङ, आर्टिस्टिक जिम्न्यास्टिक, ट्राम्पोलिन, सुटिङ र भलिबललगायत १३ खेलका ओलम्पिक विजेताले नागोयामा प्रतिस्पर्धा गर्नेछन्। यीमध्ये टेबल टेनिसकी सुन यिङ्सा र वाङ मान्यु, डाइभिङका छेन युशी र वाङ जोङयुआन, जिम्न्यास्टिकका जोउ जिङयुआन, क्यानो स्प्रिन्टकी सुन मङ्या तथा भारोत्तोलनकी ली वेनवेन विशेष आकर्षणका रूपमा रहनेछन्। यी खेलाडीले टोकियो र पेरिस ओलम्पिकमा लगातार स्वर्ण जितिसकेका छन्। यसले चिनियाँ टोलीको संरचनामा एउटा रोचक तस्बिर प्रस्तुत गर्छ, एकातिर औसत २४ वर्षको युवा समूह र अर्कोतिर ओलम्पिकको सबैभन्दा ठूलो मञ्चमा स्वर्ण जितिसकेका खेलाडी। चीनका लागि यही संयोजन नागोयामा पदक जित्ने बलियो आधार बन्ने अपेक्षा गरिएको छ।
११ संस्करणदेखि शीर्ष स्थानमा चीन
एसियाली खेलकुदमा चीनको प्रभुत्व लामो समयदेखि कायम छ। सन् १९८२ देखि चीनले लगातार ११ संस्करणमा पदक तालिकामा पहिलो स्थान हासिल गर्दै आएको छ। अब नागोयामा उसले लगातार १२औं संस्करणमा पनि शीर्ष स्थान कायम राख्ने लक्ष्य राखेको छ।
चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा चीनको खेलकुद प्रशासनका प्रमुख गाओ झिदानले टोलीको लक्ष्य चीनको अग्रता कायम राख्नु रहेको बताएका छन्। चिनियाँ अधिकारीहरूले यसपटक तुलनात्मक रूपमा सानो टोलीबाट उच्च गुणस्तरको प्रदर्शन हासिल गर्ने लक्ष्य राखेका छन्।
सन् २०२३ मा चीनमै भएको हाङझाउ एसियाली खेलकुदमा चीनले कीर्तिमानी प्रदर्शन गर्दै २०१ स्वर्णसहित ३८३ पदक जितेको थियो। घरेलु भूमिमा प्राप्त उक्त सफलतापछि नागोयामा चीनमाथि अपेक्षा अझ ठूलो हुनेछ।
युवा खेलाडीका लागि ठूलो परीक्षा
औसत २४ वर्षको उमेरले चीनले यसपटक युवा पुस्तालाई कति प्राथमिकता दिएको छ भन्ने देखाउँछ। ५४८ खेलाडी पहिलोपटक एसियाली खेलकुद खेल्नु र २० वर्ष वा त्यसभन्दा कम उमेरका खेलाडीको संख्या उल्लेख्य हुनु चीनको दीर्घकालीन खेलकुद योजनासँग जोडिएको छ। बहुखेल प्रतियोगितामा पदक जित्नु मात्र सफलताको मापदण्ड होइन। त्यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय दबाब, ठूलो दर्शक, विभिन्न देशका उत्कृष्ट प्रतिद्वन्द्वी र लगातार प्रतिस्पर्धाको वातावरणमा अभ्यस्त बनाउँछ। त्यसैले चीनका लागि नागोया नयाँ पुस्ताका खेलाडीलाई २०२८ को लस एन्जलस ओलम्पिक र त्यसपछिका अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने महत्वपूर्ण अवसर पनि हुनेछ।
चीनले आफ्ना टोलीमा विदेशी विशेषज्ञलाई समेत समावेश गरेको छ। प्रतिनिधिमण्डलका कर्मचारी तथा प्राविधिक समूहमा २४ देश तथा क्षेत्रबाट आएका ६९ विदेशी विशेषज्ञ छन्। अस्ट्रेलिया, स्पेन, फ्रान्स, नेदरल्यान्ड्स र बेलायतलगायत देशका विशेषज्ञले चिनियाँ खेलाडीलाई प्राविधिक तथा प्रशिक्षण सहयोग गरिरहेका छन्।
नागोयामा चीनको परीक्षा
आइची–नागोया एसियाली खेलकुद चीनका लागि केवल अर्को प्रतियोगिता होइन, लगातार ११ संस्करणदेखि कायम रहेको प्रभुत्वलाई १२औं पटक पनि निरन्तरता दिने अवसर र चुनौती पनि हो। तर, यसपटकको चिनियाँ टोलीको विशेषता केवल पदक जितिसकेका सुपरस्टार होइनन्, २४ वर्षको औसत उमेर बोकेको ठूलो युवा पुस्ता पनि हो।
एकातिर सुन यिङ्शा, वाङ मान्यु, छेन युशी, वाङ जोङयुआन र ली वेनवेनजस्ता ओलम्पिक च्याम्पियनको अनुभव छ। अर्कोतिर १२ वर्षीया काओ शिछीदेखि २० वर्षभन्दा कम उमेरका दर्जनौं खेलाडी पहिलोपटक एसियाली खेलकुदको ठूलो मञ्चमा उत्रिँदैछन्। यस अर्थमा नागोया चीनका लागि वर्तमानको प्रभुत्व जोगाउने र भविष्यको प्रभुत्व निर्माण गर्ने दुवै अभियानको मञ्च बन्नेछ। सेप्टेम्बर १९ मा प्रतियोगिता सुरु भएपछि चीनको नजर स्वाभाविक रूपमा पदक तालिकाको शीर्ष स्थानमा हुनेछ। तर, त्यसभन्दा पर एउटा अर्को प्रश्न पनि महत्वपूर्ण हुनेछ, २४ वर्षको औसत उमेर बोकेको यो युवा चिनियाँ टोलीले एसियाली खेलकुदमा आफ्नो देशको पुरानो प्रभुत्वलाई नयाँ पुस्तासम्म कति बलियो रूपमा पु¥याउन सक्छ ? यसको जवाफ नागोयाका मैदानले दिनेछ।