: भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि सिर्जित आपतकालीन विपद्मा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार भदौ २५ गतेसम्म विभिन्न १३ मुलुक तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट कुल ४ सय ५१ प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवनरक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाइका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्।
विपद्पछिको परिस्थितिमा छिमेकी मुलुक भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भारतबाट एकै खेपमा ७६ प्रकारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री राहत स्वरूप प्राप्त भएको भन्सारको विवरणमा उल्लेख छ।
भदौ १९ गते नेपाल आइपुगेको ७१ हजार ५ सय ८१ किलोग्रामभन्दा बढी सहायता सामग्रीमा एमोक्सिसिलिन, सिफिक्सिम, प्यारासिटामोल जस्ता जीवनरक्षक औषधि, सर्जिकल औजार, इन्फ्युजन सेट, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हैजा परीक्षण किटहरू समावेश छन्। यसका साथै सर्पको टोकाइविरुद्ध प्रयोग हुने ४१.४ किलोग्राम एन्टिभेनम, अक्सिजन कन्सन्ट्रेटर, टिटानस खोप र ५ हजारभन्दा बढी सिरिन्ज पनि भारतले हस्तान्तरण गरेको छ।
बाढी प्रभावित क्षेत्रमा आपत्कालीन बासस्थान र खाद्यान्नको संकट सम्बोधन गर्न खाडी मुलुकहरू कतार र संयुक्त अरब इमिरेट्स (यूएई) ले उल्लेख्य योगदान पुFर्याएका छन्। कतारले कुल ६२ हजार ९ सय ९ किलोग्राम सहायता सामग्री पठाएको छ, जसभित्र ५३ हजार ४ सय किलो पिठो, ९ हजार किलो कुकिङ सेट, ठूला तथा मझौला पाल, वाटर पम्प र शव व्यवस्थापनमा प्रयोग हुने कपडाहरू छन्।
यूएईबाट ५ लट गरी विभिन्न राहत सामग्रीहरू प्राप्त भएका छन्। यूएईले ५ हजार ७ सय ६० किलो पोषिलो बिस्कुट, २० हजार किलो हाइजिन किट, ५ सय थान पारिवारिक पाल, सोलार फ्लड लाइट, ८ थान जेनेरेटर र ५ थान २० फिटका रिफर कन्टेनरहरू पठाएको छ। विपद् प्रभावित क्षेत्रमा सहज आपत्कालीन सञ्चार सुविधा कायम राख्न यूएईले थुराया र इरिडियम ब्रान्डका १०–१० थान स्याटेलाइट फोनहरूसमेत उपलब्ध गराएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
चीनले ३ लटमा उद्धार तथा पुनस्र्थापनाका लागि उपयोगी हुने सामग्रीहरू पठाएको छ। चीनबाट १ हजार थान त्रिपाल, ५ हजार थान कम्बल, ६ हजार थान स्लिपिङ ब्याग, १ हजार किलो सुक्खा खानेकुरा, १ हजार थान इमर्जेन्सी किट, १ हजार २ सय किलो शव व्यवस्थापन ब्याग, ६ सय थान सोलार लाइट र ५० थान स्पेयर ब्याट्री नेपाल भित्रिएका छन्। null
यसका अतिरिक्त बाढी र डुबान प्रभावित क्षेत्रमा कठिन उद्धार कार्यका लागि चीनले २० थान रेस्क्यु होभरक्राफ्ट र ५ थान फ्लड पम्पसमेत सहयोग गरेको छ।
आपत्कालीन न्यानो सामग्रीमा दक्षिण कोरियाले २ लटमा ३८ हजारभन्दा बढी थर्मल कम्बल, थप १ हजार थान साधारण कम्बल र ९ हजार लिटर पिउने पानी उपलब्ध गराएको छ। त्यसैगरी अमेरिकाबाट १ लटमा ७ हजार ८ सय ७५ थान कम्बल, १० हजार ६ सय ५८ किलो सेल्टर प्लास्टिक त्रिपाल, २ हजार ६ सय ४० थान घरायसी पानी फिल्टर, ३ हजार ६ सय ४८ किलो हाइजिन किट, २ हजार ७ सय ३५ थान सोलार लाइट, २ हजार ६ सय २० थान पानी राख्ने बाल्टिन र १ हजार २ सय थान ढक्कनसहितका बाल्टिनहरू भित्रिएका छन्।
मित्रराष्ट्र पाकिस्तानले १ लटमार्फत ७ सय थान पारिवारिक पाल, ५ हजार थान कम्बल, २ हजार थान प्लास्टिक म्याट, ७ हजार ३ सय किलो हाइजिन किट र ५ सय १० किलो औषधि पठाएको छ। थाइल्यान्डले ५ देखि ६ जना अटाउने ३ सय थान पारिवारिक पाल, ८६ थान स्लिपिङ ब्याग, १० हजार थान एन ९५ र केएन ९५ मास्क, १ हजार पीपीई सेट, ५.५ किलोवाटका ५ थान जेनेरेटर, ४ सय थान हेलमेट तथा हेडल्याम्पका साथै शिशु एवं बालबालिकाका लागि विशेष ३ सय सेट रोयल किट सहयोग गरेको छ। म्यानमारले ८ मेट्रिक टन अर्थात् ८ हजार किलो दाल तथा गेडागुडी हस्तान्तरण गरेको छ भने अस्ट्रेलियाले एन ९५ मास्क, फेस सिल्ड, सेफ्टी ग्लासेस, टायभेक सुट र आइसोलेसन गाउन जस्ता स्वास्थ्य सुरक्षा सामग्री पठाएको छ।
विपद्पछिको जटिल परिस्थितिमा खोज, उद्धार तथा शव व्यवस्थापन (डीभीआई) र फरेन्सिक अनुसन्धानका लागि सिंगापुर र मलेसियाले अत्याधुनिक उपकरण राहत स्वरूप पठाएका छन्। सिंगापुरले ४ लटमा २ सय ७३ प्रकारका सामग्री पठाएको छ। जसमा फरेन्सिक ल्याब उपकरण, शव परीक्षण औजार, डीएनए परीक्षण किट, फिंगरप्रिन्ट किट, डिजिटल क्यामेरा, शव व्यवस्थापन ब्याग, क्याम्पिङ सामग्री र सुरक्षा उपकरणहरू छन्। मलेसियाले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन ८ थान अत्याधुनिक ‘डीजेआई म्याट्रिस ४ टी’ ड्रोन किट उपलब्ध गराएको छ।
विदेशबाट प्राप्त हुने राहत सामग्रीको भन्सार प्रक्रिया र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले गृह मन्त्रालयको सिफारिसमा विशेष छुट तथा सहजीकरणको व्यवस्था मिलाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनीले वैदेशिक सहायता स्वरूप आउने राहत सामग्रीमा गृह मन्त्रालयको सिफारिसका आधारमा भन्सार महसुल तथा अन्य करहरू पूर्णरूपमा छुट दिएर तत्काल पास गराउने गरिएको जानकारी दिए।
‘वैदेशिक राहतका रूपमा मेडिकल उपकरण, अस्थायी आवासका सामग्री, खाद्यान्न तथा शव व्यवस्थापनका लागि आवश्यक पोसाक र फ्रिजरहरू प्राप्त भएका छन्,’ भन्सार प्रमुख पुडासैनीले भने, ‘गृह मन्त्रालयको जानकारी र सिफारिसका आधारमा सतप्रतिशत महसुल छुट दिएर राहत सामग्री द्रुत गतिमा भन्सार पास गराइएको छ। भन्सारबाट जाँचपास भएका सामग्रीहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बुझेर लैजाने र तोकिएको कार्यविधिअनुसार वितरण प्रक्रियामा लैजाने गरेका छन्।’
दाता राष्ट्रहरूले पठाएको सामग्रीको लट र परिमाणको विवरण भन्सारको डिजिटल प्रणालीमा अद्यावधिक रहेको उल्लेख गर्दै उनले दाता राष्ट्रहरूसँग परराष्ट्र मन्त्रालय र विपद् प्राधिकरणले समन्वय गर्ने भएकाले जिल्ला–जिल्लामा पठाउने प्रक्रियाको विस्तृत व्यवस्थापन ती निकायबाटै हुने स्पष्ट पारे।
विभिन्न देश तथा संघ–संस्थाबाट राहत स्वरूप आइपुगेका सामानहरू सोझै प्रभावित नागरिक कहाँ पुर्याउने नभई एकद्वार प्रणालीमार्फत भण्डारण र ट्र्याकिङ गरेर मात्र पठाइने गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जियोलोजिस्ट तथा सहप्रवक्ता डा. प्रकाश पोखरेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री अवतरण हुनासाथ विमानस्थल परिसरमै रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (नेओक) को गोदाममा संकलन गरी भण्डारण गरिन्छ। ‘गोदाममा भण्डारण गरिसकेपछि प्राप्त सामग्रीहरूको विस्तृत विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिन्छ,’ सहप्रवक्ता डा. पोखरेलले भने, ‘स्थानीय तथा जिल्ला विपद् व्यवस्थापन समितिबाट आएको माग र आवश्यकताका आधारमा डिजिटल पोर्टल मार्फत ट्र्याक गर्दै पारदर्शी रूपमा सम्बन्धित प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने गरिएको छ।’
अन्तर्राष्ट्रिय सहायता स्वरूप आउने नगद रकम सिधै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा हुने गरेको र जिन्सी तथा राहत सामग्रीका लागि भने मन्त्रिपरिषद्को निर्णयअनुसार सतप्रतिशत भन्सार महसुल छुट गराई भन्सार पास गराउने व्यवस्था मिलाइएको डा. पोखरेलले जानकारी दिए। बाढी प्रभावित क्षेत्रहरूमा हाल खाद्यान्नबाहेक आगामी चिसो मौसमलाई लक्षित गरी उच्च हिमाली तथा पहाडी भेगका लागि ‘स्नो टेन्ट’ र विन्टर टेन्टहरूको माग अत्यधिक बढेको प्राधिकरणले जनाएको छ। हाल उपलब्ध मौज्दातले तत्कालको आवश्यकता धानेको भए तापनि चिसो मौसमका लागि आवश्यक पर्ने विशेष खालका न्यानो टेन्टहरू वैदेशिक सहयोग र खरिद प्रक्रियामार्फत आउने क्रममै रहेको डा. पोखरेलको भनाइ छ। काठमाडौंबाहेक भैरहवालगायत अन्य स्थानमा रहेका क्षेत्रीय डिपोहरू र गैरसरकारी संघसंस्थाहरूसँगको समन्वयमा राहत सामग्रीको अभाव हुन नदिने गरी वितरण व्यवस्थापनलाई निरन्तरता दिइएको छ।
विपद् प्रभावित क्षेत्रमा कति परिमाणमा राहत सामग्री आवश्यक पर्छ भन्ने यकिन तथ्यांक सडक तथा हवाई मार्गबाट पठाइएका सामग्रीको विवरण दैनिक रूपमा संकलन गरी तयार पारिँदै छ। प्राधिकरणले वैदेशिक तथा आन्तरिक राहत सामग्रीको कुल परिमाण, माग र वितरणको समग्र विवरण आफ्नो आधिकारिक डिजिटल पोर्टल तथा सामाजिक सञ्जालमार्फत दैनिक रूपमा अध्यावधिक गरी सार्वजनिक गर्दै आएको छ।