। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् ।
हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री प्रयोग गरेर आफ्नो शरीर ढाकेकी छन् । फुटबल, बास्केटबल, हकी प्याड र टेनिस र्याकेटलगायतका खेल सामग्रीसहित गरिएको फोटोसुट सार्वजनिक भएपछि यसबारे सामाजिक सञ्जालमा बहस सुरु भएको हो ।
स्वीनीले आइतबार उक्त विज्ञापनका तस्बिर र भिडियो पोस्ट गरेकी थिइन् । समाचार तयार पार्दासम्म उनको पोस्टमा २० लाखभन्दा बढी लाइक र २८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।
पोस्ट सार्वजनिक भएसँगै भाइरल भएको थियो । केही प्रयोगकर्ताले विज्ञापनको अवधारणाको आलोचना गरेका छन् भने खेलकुदसँग जोडिएका केही महिलाले समेत यसलाई महिलाको शरीरलाई यौनिक रूपमा प्रस्तुत गर्ने अभियानका रूपमा टिप्पणी गरेका छन् ।
स्वीनीको पोस्टमा एक महिला इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छन्, ‘एक पूर्व खेलाडी र आफैँले यौनिक टिप्पणीको सामना गरेकी महिलाका रूपमा यो अभियानबाट म साँच्चै घृणा र गहिरो निराशा महसुस गरिरहेकी छु । हामीले आफ्नो प्रतिभा, शक्ति र उपलब्धिका लागि चिनिन र सम्मान पाउन वर्षौं संघर्ष गरेका छौँ, केवल शरीरमा सीमित हुनका लागि होइन…।’
स्वीनीले भने आलोचनाबारे प्रत्यक्ष प्रतिक्रिया दिएकी छैनन् । तर उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा विभिन्न चर्चित खेलाडीका विगतमा गरिएका यस्तै प्रकृतिका फोटोसुट सेयर गर्दै आलोचनाप्रति अप्रत्यक्ष कटाक्ष गरेकी छन् ।
यसअघि सन् २०२५ मा पनि स्वीनी ‘अमेरिकन ईगल’ डेनिम ब्रान्डको विज्ञापनलाई लिएर आलोचनामा परेकी थिइन ।