अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसभित्र रहेका डिजेल रिफाइनरीहरूमा आक्रमण तत्काल रोक्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । युक्रेनी हमलाका कारण विश्वभर डिजेलको चरम अभाव सिर्जना भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई असर पुर्याएको दाबी ट्रम्पले गरेका छन् ।
रुस र युक्रेनबीच जारी क्षेप्यास्त्र युद्धका बीच युक्रेनले रुसी तेल तथा ग्यास पूर्वाधारलाई निरन्तर निसाना बनाइरहेको छ । रुस विश्वकै प्रमुख तेल उत्पादक राष्ट्र भएपनि युक्रेनी आक्रमणका कारण उसको इन्धन उत्पादन तथा प्रशोधन क्षमतामा भारी गिरावट आएको छ ।
आइरिस ओपनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसी डिजेल उत्पादन केन्द्रहरूमा हमला रोक्न आग्रह गरेको जानकारी दिए । उनले भने, ‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ- उनले रुसमा डिजेल इन्धन नष्ट गर्न छाड्नुपर्छ । त्यहाँ आक्रमण गर्नका लागि अन्य धेरै लक्ष्यहरू उपलब्ध छन् ।’
ट्रम्पले विश्वव्यापी डिजेल अभावको मुख्य जड रुस–युक्रेन युद्ध नै भएको तर्क गरे । तर, युक्रेनले भने रुसको ऊर्जा क्षेत्रलाई सैन्य लक्ष्य मान्दैआएको छ । युक्रेनका अनुसार रुसी तेल र ग्यास उद्योग नै मस्कोको युद्धको मुख्य आर्थिक स्रोत भएकाले त्यसलाई ध्वस्त पार्नु आफ्नो रक्षाका लागि अनिवार्य छ ।
युक्रेनले विगत केही महिनादेखि रुसी तेल प्रशोधन केन्द्रहरूमा रणनीतिक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । यसका कारण रुसले आफ्नै देशबाट हुने इन्धन निर्यातमा कडा प्रतिबन्ध लगाउन बाध्य भएको छ ।
तथ्यांकअनुसार, सन् २०२५ मा औसत ८ लाख ६० हजार ब्यारेल प्रतिदिन रहेको रुसी इन्धन निर्यात घटेर गत अगस्टमा ५ लाख ९१ हजार ब्यारेलमा झरेको छ ।
युक्रेनी सेनाले हालै रुसको तातारस्तानमा रहेको प्रमुख तानेको रिफाइनरीमा सफल हमला गरेको थियो । जहाँ दुई जना सर्वसाधारणको ज्यान गएको थियो । बदलामा रुसले पनि युक्रेनका पट्रोल पम्पहरूमा आक्रमण बढाएको छ । अप्रिलदेखि यता कम्तीमा २४६ वटा युक्रेनी पट्रोल पम्पहरू रुसी निसानामा परिसकेका छन् ।
आइजी ग्रुपका मुख्य बजार विश्लेषक क्रिस बिचम्पले युक्रेनी आक्रमणको उद्देश्यबारे टिप्पणी गर्दै भने, ‘अहिलेका लागि यसको मुख्य प्रभाव सर्वसाधारण नागरिकहरूमाथि परेको छ, जुन रुसी राष्ट्रपतिमाथि आन्तरिक दबाब बढाउनका लागि गरिएको रणनीति हो ।’
उनका अनुसार युक्रेनी आक्रमणले रुसको निर्यात उद्योगलाई ठूलो धक्का दिएको छ । सेन्ट पिटर्सबर्ग जस्ता प्रमुख सहरहरूमा पट्रोल पम्पहरू रित्तिएका छन् । नागरिकहरू इन्धनका लागि लामो लाइनमा बस्न बाध्य छन् । रुसले हाल विश्वभर दैनिक करिब १ लाख ५० हजार ब्यारेल डिजेल मात्र आपूर्ति गरिरहेको छ । जुन विगत पाँच वर्षको औसतको तुलनामा ८१ प्रतिशतले कम हो ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार, रुस र खाडी क्षेत्रबाट हुने संयुक्त डिजेल निर्यात अगस्ट महिनामा फेब्रुअरीको तुलनामा १६ लाख ब्यारेल प्रतिदिनले घटेको छ ।
यद्यपि, विश्वव्यापी इन्धन सङ्कटको पछाडि युक्रेनी आक्रमण मात्र नभई मध्यपूर्वमा अमेरिकाको आफ्नै सैन्य गतिविधि पनि मुख्य कारण रहेको विश्लेषण गरिएको छ । गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो ।
हालै अमेरिका र इरानबीच पुन: द्वन्द्व बढेपछि तेलको मूल्य प्रतिब्यारेल १०८ डलर नजिक पुगेको छ । यसका साथै साउदी अरबको महत्वपूर्ण इस्ट–वेस्ट पाइपलाइनमा भएको ड्रोन आक्रमणले पनि ऊर्जा बजारलाई थप त्रसित बनाएको छ । स्ट्रेट अफ होर्मुज जलमार्ग युद्धको चपेटामा परेपछि विश्वभर इन्धन आपूर्ति प्रणाली अस्तव्यस्त बनेको छ ।
विश्लेषक क्रिस बिचम्पले ट्रम्पको दाबीलाई खण्डन गर्दै भनेका छन्, ‘युक्रेनी आक्रमणहरू त केवल एउटा सानो हिस्सा मात्र हुन् । युक्रेनी हमलाहरू रोकिँदा मूल्यमा केही समयका लागि सामान्य गिरावट आउनसक्छ, तर मुख्य समस्या समाधान नभएसम्म त्यो गिरावट तुरून्तै उल्टिनेछ ।’
उनका अनुसार, अमेरिकाले सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता नै रुसी डिजेल आयात गर्न छाडिसकेको छ । त्यसैले अमेरिकी बजारमा देखिएको मूल्यवृद्धिको पछाडि रुसी रिफाइनरीमाथिको आक्रमण नभई मध्यपूर्वको युद्ध नै मुख्य जिम्मेवार हो ।
किङ्स कलेज लन्डनका सुरक्षा मामिलाका वरिष्ठ प्राध्यापक एन्ड्रियास क्रिगले पनि यस विषयमा आफ्नो विचार राख्दै भने, ‘इरान युद्ध नै विश्वव्यापी डिजेल उपलब्धतामा परेको ठूलो प्रणालीगत धक्का हो । युक्रेनको रिफाइनरी अभियान एउटा अत्यन्त महत्वपूर्ण थप दबाब त हो, तर यो खाडी क्षेत्रमा सिर्जित ठूलो अवरोधको माथि थपिएको मात्र हो। यी दुवै सङ्कटहरू आपसमा प्रतिस्पर्धी कारण होइनन्, यी त सञ्चित असर हुन् ।’
अमेरिकामा आउँदो नोम्बरमा हुने मध्यावधि निर्वाचनका कारण ट्रम्प प्रशासनमाथि इन्धनको मूल्य घटाउने ठूलो राजनीतिक दबाब छ । अमेरिकामा डिजेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । फेब्रुअरीयता अमेरिकी डिजेलको मूल्य ६५ प्रतिशतले बढेर प्रतिगेलन ६.२० डलर पुगेको छ । सामान्य पेट्रोलको मूल्य ४५ प्रतिशतले बढेर ४.३१ डलर पुगेको छ ।
ट्रक, ट्रेन र जहाजहरू डिजेलबाटै सञ्चालन हुने भएकाले इन्धनको मूल्यवृद्धिको सीधा असर दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको छ। यसका कारण अमेरिकी अर्थतन्त्रप्रति ट्रम्पको लोकप्रियता घटीरहेका छन् ।
(अल जजिरामा प्रकाशित रिपोर्टमा आधारित)