मुख्य समाचार
भोजपुरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदै
भोजपुरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदै

: भोजपुरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदै गएको छ। बजारमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती खेप्नु परिरहेको छ। ग्यास अभावले सदरमुकाम भोजपुर बजार क्षेत्रका कतिपय उपभोक्ता खाना पकाउन दाउरा र कोइलाको सहारा लिन बाध्य भएका छन्।

विशेषगरी जिल्लाको सदरमुकाम भोजपुर बजार क्षेत्रमा ग्यासको समस्या बढी देखिएको छ। नियमित रूपमा ग्यास उपलब्ध नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर स्थानीय डिपो तथा बिक्री केन्द्र धाउनुपर्ने अवस्था आएको छ। स्थानीय डिपोहरूले समेत मागअनुसार ग्यास उपलब्ध गराउन नसक्दा उपभोक्ताको समस्या झन् बढेको हो।

ग्यासको अभाव भएपछि घरायसी उपभोक्तालाई दैनिक खाना पकाउनेदेखि होटल तथा खाजा व्यवसाय सञ्चालनसम्म समस्या परेको छ। ग्यासमा निर्भर हुँदै आएका परिवारले अहिले वैकल्पिक इन्धन खोज्नुपर्ने अवस्था आएको छ। बजार क्षेत्रमा दाउरा र कोइला प्रयोग गर्ने क्रम बढेपछि यसले उपभोक्ताको

दैनिकीलाई समेत प्रभावित बनाएको छ।
‘ग्यास आउँछ कि भनेर खाली सिलिन्डर बोकेर डिपो पुग्यो, तर सहज रूपमा पाइँदैन,’ पानीट्यांकीका स्थानीय हिमाल राईले भने। नियमित आपूर्ति नहुँदा घरमा ग्यास सकिएपछि तत्काल अर्को सिलिन्डरको व्यवस्था गर्न नसकिने अवस्था रहेको उनले बताए। वितरक पसलहरूमा अग्रिम नाम टिपाए पनि थोरै मात्रामा ल्याइएका ग्याँसका सिलिन्डरहरूमा उपभोक्ताहरूबीच संघर्ष हुने गरेको उनले बताए।

ग्यासको अभावको असर होटल तथा खाजा व्यवसायमा पनि उस्तै छ। दैनिक ठूलो परिमाणमा ग्यास खपत हुने भएकाले होटल व्यवसायीलाई नियमित आपूर्ति नहुँदा खाना पकाउने व्यवस्थापनमै समस्या परेको छ। डाँडागाउँका होटल व्यवसायी तारा राईका अनुसार ग्यासको विकल्पका रूपमा दाउरा वा कोइला प्रयोग गर्दा समय र श्रम बढ्नुका साथै व्यवसाय सञ्चालन खर्चसमेत बढ्ने गरेको छ। स्थानीय ग्यास डिपो तथा बिक्री केन्द्रहरूले पनि सहज रूपमा आपूर्ति गर्न नसकेको बताएका छन्। बजारमा ग्यासको माग रहे पनि आफूहरूले मागअनुसार पर्याप्त परिमाणमा ग्यास प्राप्त गर्न नसकेको उनीहरूको भनाइ छ। आपूर्ति नै नियमित नभएपछि उपभोक्तालाई मागअनुसार ग्यास वितरण गर्न कठिन भएको पानीट्यांकीका व्यवसायी राजकुमार श्रेष्ठले बताए।

भोजपुर जस्तो पहाडी जिल्ला भएकाले बाहिरी क्षेत्रबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने अवस्था छ। सडक तथा यातायातको अवस्थाले समेत अत्यावश्यक वस्तुको आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने गरेको स्थानीय गीता राई सुनाउँछिन्। ग्यास ढुवानी नियमित हुन नसक्दा बजारमा अभावको अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ।

ग्यासको आपूर्ति प्रणालीमा कहाँ समस्या भइरहेको छ भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक हुन सकेको छैन। उपभोक्ताले भने ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तत्काल पहल गर्न माग गरेका छन्। खाना पकाउने ग्यास अहिले अधिकांश घरपरिवारका लागि अत्यावश्यक वस्तु बनिसकेको छ। यस्तो अवस्थामा बजारमै ग्यासको अभाव देखिनुले उपभोक्तालाई वैकल्पिक इन्धनको खोजीमा धकेलेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रमै ग्यास सहज रूपमा उपलब्ध नहुनु आपूर्ति व्यवस्थापनको कमजोरीका रूपमा समेत हेरिएको स्थानीय अगुवा राजु श्रेष्ठको बुझाइ छ।

उपभोक्ताले ग्यासको आपूर्ति तत्काल सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना भए, नभएको अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै ग्यासको वास्तविक माग, जिल्लामा भित्रिने परिमाण र वितरण अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।

ग्यासको अभाव लामो समयसम्म कायम रहे यसले घरायसी उपभोक्तासँगै होटल, खाजा तथा अन्य व्यवसायमा समेत थप असर पार्न सक्ने देखिन्छ। त्यसैले जिल्लामा खाना पकाउने ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न स्थानीय तह, प्रशासन तथा सम्बन्धित आपूर्तिकर्ताबीच समन्वय आवश्यक देखिएको छ।

जिल्ला प्रशासनले पनि बजारक्षेत्रका सबै वितरक डिपो तथा केन्द्रहरूमा कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिएको छ। ग्यास अभाव भइरहेका बेला कृत्रिम अभाव सिर्जना गर्ने र मनपरी शुल्क वृद्धि गरिएको पाइए कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रजिअ विष्णुकुमार थेगुवाले बताए।

अत्यावश्यक इन्धनको अभावमा उपभोक्ता दाउरा र कोइला बाल्नुपर्ने अवस्थासम्म पुग्नु सामान्य विषय होइन। बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताले अनावश्यक हैरानी व्यहोर्न नपर्ने वातावरण बनाउन सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्ने सरोकारवालाहरूको
भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने ...
। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साउन २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य ...
: नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्। उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम