। आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो रेफ’ ले गल्ती स्वीकार गरेको छ ।
ओल्ड ट्राफर्डमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको खेलमा हालान्डले ६०औं मिनेटमा गरेको गोल सुरुमा अफसाइडका कारण अस्वीकार गरिएको थियो । तर भिडियो सहायक रेफ्री (भीएआर) को हस्तक्षेपपछि गोललाई मान्यता दिइएको थियो ।
विवादको केन्द्रमा सिटीका एन्जो फर्नान्डेज थिए, जो अफसाइड अवस्थामा रहेर पनि बल खेल्न प्रयास गरिरहेका देखिएका थिए । प्रो रेफका अनुसार उनले बल छोएका थिएनन्, त्यसैले अफसाइड ‘सब्जेक्टिभ’ बनेको थियो । तर उनको अवस्थाले खेलमा प्रभाव पारेको सम्भावना भीएआरले नबुझेको र त्यस अवस्थामा मैदानमै रेफ्रीलाई पुनरावलोकन गर्न सिफारिस गर्नुपर्ने थियो ।
प्रो रेफले शनिबार साँझ म्यानचेस्टर युनाइटेडसँग सम्पर्क गरी यसलाई ‘निर्णयगत त्रुटि’ मानेको र घटनाको विस्तृत समीक्षा गरिने जनाएको छ ।
युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले निर्णयलाई अन्याय भनेका छन् भने प्रशिक्षक माइकल क्यारिकले आफू निर्णयबाट अलमलमा परेको प्रतिक्रिया दिएका छन् ।
यसअघि खेलको २३औं मिनेटमै फिल फोडेनले ब्रुनो फर्नान्डेजलाई लडेको अवस्थामा लात हानेपछि सिधा रातो कार्ड पाउँदै म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो ।