। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् ।
छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्ने क्रममा उनले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्नुपर्ने बताए ।
‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरुको आवाज दबाउँछ, अरुलाई बोल्न दिँदैन, अरुलाई अप्ठेरोमा पार्छ,’ अध्यक्ष ओलीले भनेका छन्, ‘अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ । त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ ।’
धर्ममा पनि सोही कुरा रहेको बताउँदै अहिले यो कुरा अहिलेका लागि पनि सत्य नै रहेको जिकिर गरे ।
‘त्यही थियो, त्यो कुरा सत्य हो । अहिलेका लागि पनि सत्य हो । अहिलेका शासकले पनि बुझ्नुपर्ने कुरा हो । मैले पनि शास्त्रकै कुरा गरेको हो,’ ओलीले भने ।
उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढेको जिकिर गरे ।
‘यो लडाईं हामी लड्दै आएको हौं, म व्यक्तिगत तवरबाट पनि अनेक कुराहरूलाई लिएर जनताका हकलाई लिएर लडाईंको मैदानमा उभिएको थिएँ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘अहिले भन्दा ६० वर्षअघि मैले पहिलोपल्ट संयुक्त राष्ट्रसंघको बडापत्र र मानव अधिकारको घोषणापत्र पढ्न भएको थिएँ । त्यसको समानता र स्वतन्त्रतातर्फको यात्रामा अघि बढ्न सजिलोसँग प्ररित गर्यो । तर, त्यसयता मैले जानेर बुझेर स्वतन्त्रताको पक्षमा लडेको छु ।’