: सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफू लखेटिएको भन्दै भ्रम फैलाइएको बताएका छन्। सामासजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले दुई जना आएर हल्ला गरेपछि आफूहरु कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन्।
‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ।,’मन्त्री पोखरेलले लेखेका छन्।
घटनाको १ मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको उनको भनाइ छ। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुने तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने शिक्षामन्त्री पोखरेलले उल्लेख गरेका छन्।
सिरहाको औरही गाउँपालिकामा आयोजित 'राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन' कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए।