: १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।
‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर बसेको छ कि भन्ने जीवित आशामा हामी सबै रह्यौं।’ बुवा उद्धव घिमिरेले भने,‘राज्यका संम्यन्त्रबाट पनि निरन्तर खोजि कार्य जारी रह्यो, कहीँबाट परिणाम सकारात्मक आउने संकेत नदेखिएपछि १८ औँ दिनमा परम्परा अनुसार विधिपूर्वक अन्त्येष्टि गरेऊ।’
गहँभरी आँशु पार्दै उनले भने,‘कि सास,कि लास आउला भन्ने हामीमा आशा थियो,वेग्रह प्रतिक्षामा थियौं,अझ खोजी तथा उद्धारमा घरपरिवार र आफन्त रसुवा पुगेउ तर, कहीँबाट संकेत नदेखिएपछि कुशलाई छोरो सम्झी एउट विधि गरेर प्रकया पुरा गर्न बाध्य भयौं।’
बेपत्ता छोराको खोज तथा उद्धारमा सरकारको संम्यत्र परिचालित भएपनि छोरा जीवित रूपमा पाउने आशा मारेर फर्किएको उनले बताए। भारी मन बनाएर मलामीसँगै कुशको शव लिएर अर्नाखोलाको घाटमा छोराको अन्त्येष्टिका लागि पुगेका घिमिरेले भने, ‘सम्हालीन गाह्रो छ तर मैले नि मन नबुझाउने हो भने छोराकी आमा, श्रीमती, ती साना छोराछोरी कसलै सम्हाली दिने, त्यसकारण पनि मन दरो बनाउन बाध्य छु।’
रोजगारीको सिलसिलामा रसुवामा १८ महिना अघि पुगेका घिमिरे त्रिशुली हाईड्रो पावर– ‘थ्रि’, ‘वि’ मा फेवा कन्स्ट्रक्स अन्र्तगत प्राविधिक पदमा कार्यरत रहेका थिए। भदौ ९ गते २७० जना कर्मचारीसँगै टनेल भित्र रात्रीकालिन डिउटी सकेर बिहान ८ बजे सुत्नका लागि छोरो क्वाटरमा पुगेकोसम्म जानकारी प्राप्त भएको बुवा उद्धवले बताए।
‘बिहान आराम गर्नुपूर्व ८:३० बजे मलाई भिडियो कल आएको थियो मैले काम विशेषले उठाउन पाइन, आमा, श्रीमती, छोराछोरी र छिमेकीसँग संवाद भएको थियो, उक्त संवाद नै जीवनको अन्तिम भयो ’ घिमिरेले भने।
बेपत्ता देवेन्द्रका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। परम्पराअनुसार बेपत्ता व्यक्तिको प्रतिकात्मक शवका रूपमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने प्रचलन छ।उनका अनुसार छोरो उज्वलले शनिबारदेखि १३ दिनसम्म कोराभित्र बसी धर्मसंस्कृति अनुसार वुवाको काम गर्ने छ।