। रसुवाको भोटेकोशी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवस लुकाएर राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीया रामबहादुर तामाङ छन् ।
१० भदौको बाढीमा नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारमा लिलाबहादुर बोगटी घर बगाउने क्रममा बगेका गरगहना भदौ ११ गते तामाङले फेला पारेको र नियतवस लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि धादिङको आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले गरगहनासहित तामाङलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ ।
बरामद भएका गरगहनामा सुनको जस्तो देखिने तीन थान बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, दुई थान मंगलसूत्र, र चाँदीको जस्तो देखिने दुई जोर पाउजु रहेको प्रहरीले जनाएको छ ।