। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्र शुक्ल द्वितीयादेखि सुरु हुन्छ ।
इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९:५३ को रहेको समितिका अध्यक्ष एवं सह प्राडा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
रुख काट्ने साइत राति ८:४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले बताए ।
लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८:०५ बजे रहेको समितिले जनाएको छ ।
इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७:४७ बजे रहेको पनि सह प्राडा. भट्टराईले बताए ।
यसैगरी, इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ । यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उनले बताए ।
असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइने छ ।
असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ ।
यसै दिन राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ ।
लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ ।