। आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना प्रयासमा सघाउ पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भिलले उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय समुदायको प्रयासको प्रशंसा गरेको छ।
संकटको यस घडीमा समुदायको साथमा उभिनु आफ्नो संस्थागत उत्तरदायित्व भएको उल्लेख गर्दै भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलिप ढकालले भनेका छन्, ‘यस्ता कठिन समयमा हामी सबै एकजुट भएर आवश्यकतामा रहेका समुदायको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ। आगामी दिनमा पनि अर्थपूर्ण रूपमा सहयोग गर्न सकिने उपायहरू हामी खोजिरहनेछौँ।’
सानो प्रयासले पनि प्रभावित नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले एकअर्काको साथमा उभिनु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन्। कम्पनीले बाढीबाट प्रभावित समुदायको पुनरुत्थानका लागि आ–आफ्नो तर्फबाट योगदान गर्न अन्य व्यावसायिक प्रतिष्ठान, संघसंस्था तथा व्यक्तिहरूलाई समेत अपिल गरेको छ।