: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा रहेको उनले बताइन्।
यस्तै जिल्ला प्रशासन कार्यालय,सप्तरीले पनि छानबिन समिति गठन गरेको छ। उनले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन्। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी दिइन्।
सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने -जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् ।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारिन्।
मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताइन्।