: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराए।
कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट नपाल्न उनको सुझाव छ। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे।
सांसद पुनले चुनावअघि ’पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए। उनले जेनजी आन्दोलनको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरे।