: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० जना नेपाली नागरिकको सकुशल उद्वार गरिएको छ।
भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा उनीहरूलाई आवश्यक सहजीकरण गरी काठमाडौँसम्म पठाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्वार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका– २ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भदौ १८ गते भोटेकोशी गाउँपालिकाको समन्वयमा १ सय १४ जना, १९ गते उद्योग वाणिज्य संघ सिन्धुपाल्चोको समन्वयमा १ सय ५५ जना, २० गते बाह्रविसे नगरपालिकाको समन्वयमा ९७ जना, २१ गते सुनकोशी गाउँपालिकाको समन्वयमा १ सय ६ जना, २२ गते बाह्रविसे नगरपालिकाको समन्वयमा १ सय ६ जना, २३ गते उद्योग वाणिज्य संघ सिन्धुपाल्चोको समन्वयमा ९४ जना र २४ गते चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा ३३ जना गरी कुल ७ सय ३ जना नेपाली स्वदेश फर्किएका हुन्।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्दार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्दार तथा स्वदेश फिर्तीमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिए । उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघ–संस्थासँगको समन्वयमा सवारी साधनको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुला रहेको छ।
रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ। बाढीका कारण चीनतर्फ करिब आठ सय नेपाली फसेको बताइएको छ। उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै नेपाल ल्याउने काम भइरहेको छ।
‘केरुङमा करिब १७ सय नेपाली रहेको भन्ने जानकारी चीनको ‘काउन्टर पार्ट’ मार्फत हामीलाई जानकारीमा आएको छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने, ‘उहाँहरुलाई तातोपानी नाकाहँुदै सुरक्षित रुपमा काठमाण्डौसम्म पु¥याईने छ। उहाँहरुको आउने क्रम जारी नै छ।’ चिनियाँ पक्षले उहाँहरुलाईसुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर प्रशासनको जिम्मा लगाउने गरेको उनको भनाई छ।