: पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भथौरामा प्रहरीले एक घरमा छापा मारेर लागुऔषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भथौराका ७० वर्षीय दुखी महतो नुनिया रहेका छन् ।
भथौराको एक घरमा लागुऔषध भण्डारण गरेर राखिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले नुनियाको घरमा बिहीबार बिहान पुगेर छापा मारेको थियो ।
त्यसक्रममा नुनियाको घरभित्र लकाईछिपाई राखिएको अवस्थामा १८ किलो ७०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
घरभित्रबाट गाँजा बरामद भएपछि उक्त घरका धनी नुनियालाई पनि नियन्त्रणमा लिइएको उनले बताए । नुनियालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।