: उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर विरोध जनाएका छन् । अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध जनाएका हुन् ।
उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । सरकारले सहज रुपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरू समस्यमा परेको उनीहरूले जनाएका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताए।
सरकार जनताका समस्याप्रति उदासीन रहेको,सुशासनको नारा केवल भ्रम मात्र भएको उनको भनाइ छ । उनले आवश्यकताभन्दा बढी ग्यास भित्रिदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको र राज्यकै मिलेमतो रहेको आरोप लगाए।