: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। पहिरो गएको स्थानको ठीक माथिबाट नयाँ ट्र्याक बनाइएको हो।
मुलुककै लाइफलाइनको रूपमा चिनिएको उक्त सडकखण्ड सञ्चालनका लागि निर्माण ब्यवसायी कम्पनीले तीव्ररूपमा डाइभर्सन निमार्णको काम गरिरहेका छन्। दैनिक १२ वटा मेसिनको प्रयोगबाट अस्थायीरूपमा बाटो निर्माण गर्न लागिएको हो। भदौभित्रमा बाटो खुलाउने गरी शर्मा सगुन कन्सट्रक्सन कम्पनीले संयुक्तरूपमा काम गरिरहेको छ।
भोटेकोशी नदीमा आएको बाढीले नदीको बहाब बढेपछि गत भदौ ४ गते सडक भासिएको थियो। सडक भासिएपछि मुग्लिन-मलेखु सडक खण्डमा सवारी सञ्चालन ठप्प छ।
जोखिमयुक्त ठाउँ भएकाले काम गर्न अप्ठ्यारो भएको सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक सहकुल खड्काले बताए।
उनका अनुसार चाडवाडको समय नजिकिएपछि काम छिटो गरिएको हो। ‘ठाउँ एकदमै अप्ठ्यारो छ। दीर्घकालीन नभए पनि अस्थायी ट्र्याक खोल्न लागिएको हो,’ खड्काले भने, ‘काठमाडौं छिर्ने मुख्य बाटो भएकाले नै जोखिमका बावजुत पनि सकारात्मक भएर काम गरिरहेका छौं। भदौभित्र काम सक्ने हाम्रो लक्ष्य ।’ तत्कालका लागि खोलिएको नयाँ ट्र्याक दीर्घकालीन नहुने उनको भनाइ छ।
पहाडको भित्तालाई भिरालो बनाएर ट्र्याक खुलाउने काम भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ। सवारी साधन सहज ढंगले सञ्चालन गर्नका लागि ग्रेड मिलाउँदै दुई लेनको ट्र्याक खोल्ने हाम्रो मूल उद्देश्य रहेको आयोजनाले जनाएको छ।