: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्।
'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ४२ जनालाई सकुशल उद्धार गर्न सफल भएका छन्।
कोस्ट गार्डका क्याप्टेन नोएमी कायब्याबका अनुसार फेरीमा ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३४ जना सवार थिए।
हाल बेपत्ता रहेका ८७ जनाको खोजी तथा उद्धार कार्य तीव्रताका साथ भइरहेको छ। समुद्रमा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ता हुनेहरूको संख्यामा परिवर्तन आउन सक्ने कोस्ट गार्डका प्रवक्ताले जनाएका छन्।