: गत भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । चिलिमे जलविद्युत् केन्द्रको भूमिगत सुरुङमा सेना तथा प्रहरीले खोजी जारी रहेको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्याँफ्रुस्थित चिलिमे जलविद्युत् केन्द्रको टनेलको मुखबाट करिब २५ मिटरभित्रसम्म नेपाली सेना पुगेको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा हराएकाहरूको खोजी कार्य जारी रहेको छ । त्यहाँ कार्यरत कर्मचारीका आफन्तले जीवित रहेको र उद्धारका लागि आग्रह गरेपछि खोजी कार्य जारी गरिएको हो ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तीव्र रूपमा अघि बढाएको छ । आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर रेकी (प्रारम्भिक अनुगमन) गरेको थियो । त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदैभित्र प्रवेश गर्दा सेनाले २ जनाको शव फेला पारेको थियो । भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य सुरु गरेको छ । यो टोली सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ ।उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल हिलो पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ ।
खाद्यान्न अभाव
भदौ १० को विनाशकारी बाढीका कारण मुख्य यातायात मार्ग ठप्प भएपछि रसुवामा ग्यास तथा खाद्यान्नको अभाव हुा थालेको छ । होटल तथा पर्यटन व्यवसाय संघ रसुवाको अध्यक्ष रामशरण गजुरेलका अनुसार होटलमा खाजा खानाका लागि खाद्यान्न अभाव हुन थालेको छ । उनले भने, ‘बाढीले बगाएको बाटो खुल्ने सुरसार छैन चामल छैन होटल व्यवसाय गर्न पनि असहज हुन थालेको छ ।’ होटलमा मात्र होइन उत्तरी क्षेत्रको गाउँमा खाद्यान्न अभाव छ । विद्युत् अभावले कुटानी पिसानी पनि प्रभावित रहेको गोसाइँकुण्ड गापा–१ थुमनका निमा तामाङले भने गाउँमा खानेकुरा र अत्यावश्यक वस्तु अभाव भइसक्यो ।
बाढीका कारण सडक सञ्जाल सम्पर्क विच्छेद भई आपूर्ति ठप्प हुँदा रसुवाका सर्वसाधारण साथै स्थानीय होटल तथा पर्यटन व्यवसाय गम्भीर संकटमा परेका छन् । बाढीपछि सिर्जना भएको विषम् परिस्थितिका कारण जिल्लामा ग्यास र दैनिक उपभोग्य खाद्यान्नको अभाव हुन थालेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेले बताए । ‘अहिलेको अवस्थामा बाहिरबाट आएका ग्रहाकलाई बास बसाउन त सकिएला, तर खाना खुवाउन सक्ने अवस्था नै छैन,’ अध्यक्ष घलेले भने ।
जिल्लामा सयभन्दा बढी होटल तथा खाजाघरहरू सञ्चालनमा छन् । बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा आएका परिवार, उद्धारकर्ता, र राहत सामग्री लिएर आएका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आवतजावत रसुवामा बाक्लिएको छ । तर, ग्यास र खाद्यान्नको अभावका कारण उनीहरूलाई खाना खुवाउन नसकिएको स्थानीय व्यवसायीहरूको गुनासो छ ।
आगन्तुकहरूको संख्या दिनप्रतिदिन बढ्दै गए पनि उपभोग्य वस्तुको अभाव चुलिँदै जाँदा होटलहरू नै ठप्प हुने जोखिम बढेको छ । ‘सडक सहज नभई आपूर्ति नहुने हो भने केही दिनमै होटलहरूमा ताला लगाउनुपर्ने अवस्था आउन सक्छ,’ होटल व्यवसायी निशान गजुरेलले चिन्ता व्यक्त गरे ।
सडक अवरुद्ध हुँदा उद्धार र राहत पहुँचमा समस्या त छँदै छ, त्यसैमा खाद्यान्न र इन्धनको अभाव थपिँदा जिल्लाको समग्र जनजीवन र पर्यटन क्षेत्र थप जटिलतातर्फ धकेलिएको छ। स्थानीय व्यवसायी तथा बासिन्दाले यथाशीघ्र सडक सञ्चालनमा ल्याई अत्यावश्यकीय सामग्रीको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन् ।