: सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । सर्पले डसेको केही समयसम्म उनी सामान्य अवस्थामा थिइन् । तर, उपचारका लागि अस्पताल पुर्याउँदासम्म अवस्था गम्भीर बन्दै गयो । एकपछि अर्को अस्पताल पुर्याउँदा पनि आवश्यक उपचार र पीआईसीयू सेवा तत्काल नपाएपछि उनको मृत्यु भएको छ ।
घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल परिवारलाई बताइनन् । केही समयपछि स्वास्थ्यमा समस्या देखिएसँगै अभिभावकले घटनाबारे थाहा पाएका थिए ।
सर्पले टोकेको हातबाट रगत बगिरहेको देखेपछि अभिभावकले उनलाई तत्काल इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा पुर्याए । साँझ करिब ६ बजेतिर त्यहाँ पुर्याइएकी बालिकाको उपचार भने हुन सकेन । काका मनीराज चौहानका अनुसार १३ वर्षमुनिका बालबालिकाको उपचार गर्ने व्यवस्था नरहेको भन्दै उनलाई अन्यत्र लैजान भनियो ।
त्यसअघि नै आस्वानालाई बान्ता हुन थालिसकेको थियो । अवस्था बिग्रिँदै गइरहेका बेला अभिभावकले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । प्रतिष्ठानमा उपचार सुरु गरिए पनि पीआईसीयू (बाल सघन उपचार कक्ष) खाली नभएको जानकारी परिवारलाई दिइयो ।
सर्पको विषका कारण बालिकाको अवस्था गम्भीर भइसकेकाले उनलाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ थियो । तर, प्रतिष्ठानमा तत्काल पीआईसीयू उपलब्ध नभएपछि अभिभावकले थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लैजाने निर्णय गरे । अभिभावकले हतारहतार बालिकालाई विराट शिक्षण अस्पताल पुर्याए । साँझ करिब ७:५० बजे विराट पुर्याइएकी आस्वानालाई चिकित्सकले ८:१७ बजेतिर मृत घोषणा गरिदिए ।
बालिकाका काका मनीराजका अनुसार सर्पले डस्दासम्म आस्वाना बोलिरहेकी थिइन् । तर, उपचारका लागि लैजाँदै गर्दा उनको अवस्था तीव्र रूपमा बिग्रिएको थियो । ‘हामीले तत्काल अस्पताल पुर्यायौँ । छोरी सुरुमा बोल्दै थिइन् । सुरुमा अस्पताल पुर्याउन लाग्दा बान्ता भयो । अवस्था गम्भीर बन्दै गयो । सर्पदंश केन्द्रमा उपचार हुन सकेन । त्यसपछि धरान लगियो । त्यहाँ उपचार त सुरु भयो, तर पीआईसीयू खाली नभएको जानकारी गराइयो । हामीले हतारहतार विराट टिचिङ ल्यायौँ, तर छोरीलाई बचाउन सकिएन,’ मनीराजले भने ।
अभिभावकका अनुसार सर्पले टोकेको कुरा केही ढिला थाहा हुनु र त्यसपछि उपचारका लागि विभिन्न ठाउँमा लैजानुपर्ने अवस्थाले पनि समय बितेको थियो । ‘छोरीले समयमै आवश्यक उपचार पाउन सकिनन् । अस्पताल चहार्दाचहार्दै ज्यान गयो,’ उनले भने ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शम्शेर श्रेष्ठले पीआईसीयू खाली नभएकाले बालिकालाई अन्यत्र रेफर गर्नु परेको बताए । उनका अनुसार प्रतिष्ठानमा चारवटा पीआईसीयू बेड छन् । ‘प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् । खाली भएको भए बालिकाको तत्काल उपचार सुरु गर्ने थियौँ । प्रतिष्ठान ल्याउँदा नै अवस्था गम्भीर बनिसकेको थियो, तर पीआईसीयू उपलब्ध गराउन सकेनौँ । हामीलाई पनि दुःख लागेको छ,’ उनले भने ।
बालिकालाई डसेको सर्पलाई स्थानीयले नियन्त्रणमा लिएर बट्टामा राखेका थिए । बट्टामा राखेपछि सर्प मरेको परिवारले जनाएको छ । आस्वानाको शव हाल विराट शिक्षण अस्पतालमै राखिएको छ ।
गोमनजस्तो विषालु सर्पको डसाइपछि बालिकालाई उपचारका लागि इटहरी, धरान हुँदै बूढीगंगासम्म पुर्याउँदा पनि ज्यान जोगाउन नसकिएको घटनाले सर्पदंश उपचारमा तत्काल उपलब्ध हुने सेवा र बालबालिकाका लागि आवश्यक सघन उपचारको उपलब्धता कमजोर रहेको देखाएको छ ।