। रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले उक्त प्रश्न गरेकी हुन् ।
उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह नआएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएर आउन, बोल्न आग्रह गरेको पनि उल्लेख गरिन् । बिहान ७ बजेदेखि आग्रह गर्दा पनि साँझ ७ बजेमात्रै प्रधानमन्त्री शाहको स्टाटस आएको भन्दै उनले आपत्ति जनाइन् ।
‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी आन्दोलनले देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले भनिन्, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’
उनले सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरेकी छिन् ।
‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?,’ उनले भने ।
सांसद खतिवडाले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् ।
रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।