। साविक विजेता कार्लोस अल्काराज युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् ।
अमेरिकी खेलाडी बेन शेल्टनले बिहीबार बिहान सम्पन्न पाँच सेटको रोमाञ्चक खेलमा अल्काराजलाई ६–७ (५–७), ६–१, ६–३, १–६, ७–६ (१०–७) ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
न्युयोर्कस्थित आर्थर एश रंगशालामा राति ११ बजेपछि सुरु भएको खेल ४ घण्टा २८ मिनेटसम्म चलेको थियो । स्थानीय समयअनुसार बिहान ३:३४ बजे सकिएको यो खेल युएस ओपन इतिहासकै सबैभन्दा ढिलो समाप्त भएको खेल बनेको छ ।
आठौं वरियताका शेल्टनले करियरमै पहिलो पटक विश्व शीर्ष तीनभित्रका खेलाडीलाई पराजित गरेका हुन् । यसअघि उनले शीर्ष तीन खेलाडीविरुद्ध खेलेका १७ खेलमध्ये कुनै पनि जित्न सकेका थिएनन्, साथै अल्काराजसँगका तीनवटै भेटमा पनि पराजित भएका थिए ।
सेमिफाइनलमा शेल्टनले अर्का अमेरिकी फ्रान्सेस टियाफोसँग प्रतिस्पर्धा गर्नेछन् । यससँगै युएस ओपनमा २३ वर्षपछि पहिलो पटक अमेरिकी पुरुष खेलाडी फाइनल पुग्ने निश्चित भएको छ ।
चार महिनाभन्दा लामो समयपछि नाडीको चोटबाट फर्किएका विश्व नम्बर तीन अल्काराजले प्रतियोगितामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरे पनि अन्ततः उपाधि रक्षा गर्न सकेनन् ।
खेलपछि अल्काराजले हारप्रति निराश नभई आफ्नो संघर्षप्रति गर्व लागेको प्रतिक्रिया दिए । ‘म स्वस्थ भएर मुस्कानसहित कोर्ट छाड्दैछु, यही नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो’ उनले भने ।