। रसुवा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सुचारु भएको छ ।
सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुन:सुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुन: सुरु भएको छ ।
मन्त्रालयकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुन:स्थापना भइसकेको छ ।
साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिएका छन् ।