: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ।
सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स' (आइआरजीसी) सँग प्रत्यक्ष सम्बन्धित थिए। बाँकी एक ट्याङ्करलाई भने इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खार्ग द्वीप नजिकै निशाना बनाइएको थियो।
अमेरिकी कारबाहीको तत्काल जवाफ दिँदै इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जोर्डनी सशस्त्र बलका प्रवक्ताका अनुसार इरानद्वारा प्रहार गरिएका मिसाइलमध्ये १८ वटालाई हवाई रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) ले हावामै नष्ट गरिदिएको थियो भने बाँकी दुई वटा मिसाइल मानव बस्तीभन्दा टाढा खसेका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेयता सुरु भएको सैन्य तनाव छ महिना बितिसक्दा पनि साम्य हुन सकेको छैन। पछिल्लो एक सातामा दुवै देशले एक-अर्काका रणनीतिक तथा सैन्य संरचनामाथिको आक्रमणलाई तीव्र बनाएका छन्।