: चीनले नेपाललाई चौथो खेपको आपतकालीन राहत सामग्री प्रदान गरेको छ। चीनबाट पठाइएको राहत सामग्री मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।
चीनले पठाएको यसपटकको राहत सामग्रीमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव संरक्षणका लागि प्रयोग हुने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीहरू छन्।
नेपालमा देखिएका विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक सामग्रीलाई प्राथमिकतामा राखेर पछिल्लो खेप पठाइएको जनाइएको छ। यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा त्यसपछिको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनले यसअघि पनि नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउँदै आएको छ। पछिल्लो खेपलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा नेपालका लागि थप सहयोगका रूपमा हेरिएको छ।