। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए ।
यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१, दोस्रोमा काठमाडौं रेड्ससँग ३–२ र अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ ले पराजित भएको थियो ।
खप्तडको भने तेस्रो खेलमा लगातार हार हो । अघिल्ला दुई खेलमा पनि खप्तड सोझो सेटमै पराजित भएको थियो । खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार दोस्रो तथा अन्तिम खेल काठमाडौं रेड्स र सगरमाथाबीच हुनेछ ।